मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा परिपालना गर्न अध्यक्ष प्रचण्डको आग्रह

गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा परिपालना गर्न अध्यक्ष प्रचण्डको आग्रह


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धनमा रहेका र उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्वबाट बिमुख नहुन आग्रह गरेका छन् । 
 
मध्यपुरथिमी नगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख तथा उपप्रमुख उम्मेदवारलाई स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक निर्देशन दिदै उनले गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा इमान्दार भएर परिपालना गर्न आग्रह गरे ।  
 
अध्यक्ष दाहालले चुनावी तयारीबारे बुझ्दै आवश्यक निर्देशन दिएको माओवादीका केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए । गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र उपप्रमुखका उम्मेदवार विजयकृष्ण श्रेष्ठसँग उनले आज छलफल गरेका हुन् । 
 
अध्यक्ष दाहालले वर्तमान गठबन्धनको विरुद्धमा देशी–विदेशी शक्ति लागिरहेकाले उनीहरूको भ्रम र प्रहारलाई परास्त गर्दै एकढिक्का भएर चुनावी अभियानमा लाग्न निर्देशन दिएको नेता ढकालको भनाइ छ । अध्यक्ष दाहालले लोकतन्त्र र संविधान रक्षाका लागि जनताले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने विश्वाससमेत व्यक्त गरे । 
 
देशैभर गठबन्धनको पक्षमा जनता खुलेर लागेको जानकारी गराउँदै उनले स्थानीय चुनावले प्रतिगामी र यथास्थितिवादीहरूलाई पाखा लगाउँदै लोकतान्त्रिक र अग्रगामी शक्तिलाई स्थानीय सरकारको साँचो सुम्पने दाबी गरे । व्यवस्था परिवर्तनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहँदै आएको स्मरण गर्दै अध्यक्ष दाहालले वर्तमान गठबन्धन व्यवस्था रक्षाका लागि भएको र सम्पूर्ण मतदातालाई यो कुरा बुझाउनु आवश्यक भएको बताए ।
 
उनले मध्यपुरथिमिमा आफू पटक–पटक आइरहेको र यहाँको समस्याबारे जानकार रहेको भन्दै मध्यपुरलाई नमूना नगरपालिकाको रूपमा विकास गर्न आफ्नो र पार्टीको तर्फबाट सक्दो पहल गर्ने बताए ।
 
“अध्यक्षले अगाडि बढ्नुस्, मध्यपुरलाई नमूना नगर बनाउन मेरो साथ रहन्छ भन्नुभएकाले उत्साहित भएर आएका छौँ”, उपप्रमुखका उम्मेदवार विजयकृष्ण श्रेष्ठले भने । मध्यपुरथिमिमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ नेपाली कांग्रेसका निवर्तमान नगर सभापति हुनुहुन्छ भने उपप्रमुख उम्मेदवार विजयकृष्ण श्रेष्ठ माओवादी केन्द्रका नगर अध्यक्ष हुन् । रासस