भरतपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार गृहजिल्ला चितवनका पाँच दलीय गठबन्धनका नेताहरूसँग भेट गरेका छन् ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरूसँग प्रचण्डले भेट गरेका हुन् । छोटो समयका लागि चितवन आएका दाहालले नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र भरतपुर महानगरपालिकाका उपप्रमुखका उम्मेदवारसमेत रहेका नगर सभापति चित्रसेन अधिकारीलाई भेट गरेका हुन् ।
उनले समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाललाई पनि भेट गरेका थिए । भेट पछि कांग्रेस सभापति खनालले गठबन्धनलाई सशक्त बनाएर अघि बढाउने विषयमा छलफल भएको बताए । दाहालले वडा तहसम्म मिलाएर लैजानुपर्नेमा जोड दिएका थिए । भेटका क्रममा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको प्रमुख पदमा वागी उम्मेदवारीको विषयमा पनि छलफल भएको जनाइएको छ ।
खनालले भने, “विस्तृत छलफल १६ गते पछि गर्ने विषयमा कुराकानी भएको छ ।” दाहाललाई भेटेपछि बागमती प्रदेशका मन्त्रीसमेत रहेका समाजवादीका नेता कृष्ण खनालले आफूसँगको भेटमा दाहालले वडा तहसम्म मिलाउन र असन्तुष्टलाई सम्झाउन आग्रह गरेको बताए ।
दाहालले चितवनमा रहँदा माओवादी केन्द्रका नेता कार्यकर्तासँग समेत भेटघाट गरेका थिए । दाहालको उपस्थितिमा पार्टीको निर्वाचनसँग सम्बन्धित योजना निर्माणका विषयमा छलफल भएको थियो । छलफलमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला र महानगरका पदाधिकारी सहभागी भएको पार्टीले जनाएको छ । रासस







प्रतिक्रिया