मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

आमजनताको साथ र विश्वास नै मेरो जित्ने आधार हो : रेनु दाहाल

आमजनताको साथ र विश्वास नै मेरो जित्ने आधार हो : रेनु दाहाल


चितवन । सत्ता गठबन्धनका तर्फबाट भरतपुरमा मेयरको उमेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ रेनु दाहालले जनअभिमतबाट प्रतिगमनलाई पराजित गरिने बताएकी छन् । 
 
सोमबार उमेदवारी दर्तापश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘हामीले आन्दोलनमार्फत प्रतिगमनलाई पराजित गरेका थियौँ । अब जनअभिमतबाट पनि पराजित गर्छौं ।’ 
 
आमजनताको साथ र विश्वास नै आफ्नो जित्ने आधार भएको उनले बताएकी छन् । कांग्रेसको बागी उमेदवारबाट आफूलाई कुनै असर नपर्ने उनको दाबी छ । उनले भनेकी छिन्, ‘दोस्रो पटक उमेदवारी दर्ता गर्दा म निकै खुसी छु, मेरो जित सुनिश्चित छ ।’
 
उनी बहालवाला मेयरसमेत हुन् । फेरि उमेदवार बन्न उनले पदबाट राजीनामा दिएकी थिइन् । रेनु २०७४ सालको स्थानीय निर्वाचनमा पनि कांग्रेसकै समर्थनमा  भरतपुरको मेयरमा विजयी भएकी थिइन् । यसपटक उनको मुख्य प्रतिस्पर्धा नेकपा (एमाले)का विजय सुवेदीसँग हुँदैछ । 
 
यसैबीच, रेनु दाहालसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उमेदवारी दर्ता गरेका छन् ।  
 
दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव र समर्थकमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने रहेका छन् । दाहाल र अधिकारी सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट उमेदवार बनेका हुन् । 
 
सयौँ नेता, कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उमेदवारी दर्ता गराएका हुन् । अधिकारी विसं २०७४ को निर्वाचनमा महानगरको वडा नं २१ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 
 
अहिले उनी कांग्रेसको भरतपुर महानगर समितिका सभापतिसमेत हुन् । पाँच दलीय गठबन्धनले महानगरको २९ वटै वडामा तालमेल गरेको छ ।