मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनमा ७७ लाखभन्दा बढी मानिस आन्तरिकरूपमा विस्थापित : राष्ट्रसंघ

युक्रेनमा ७७ लाखभन्दा बढी मानिस आन्तरिकरूपमा विस्थापित : राष्ट्रसंघ


जेनेभा । युक्रेनमा रूसको आक्रमणका कारण ७७ लाखभन्दा बढी मानिस आन्तरिकरूपमा विस्थापित भएको अनुमान गरिएको छ । उनीहरु आफ्नो घर छाडेर भागे पनि देशभित्रै बसेको राष्ट्रसंघले बिहीबार जनाएको छ ।
 
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जारी गरेको तथ्याङ्क आन्तरिक विस्थापित व्यक्तिहरू (आइडिपी)मध्ये अप्रिल ५ मा दिएको ७१ लाख रहेको अनुमानित तथ्याङ्कभन्दा बढेको हो । 
 
रूसले फेब्रुअरीको अन्त्यमा युक्रेनविरूद्ध सुरू गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका किभको सीमा सुरक्षा बलले बुधबार जानकारी गराएको छ । युक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता लेसीमा आन्ड्री डेमचेन्कोले एक पत्रकार सम्मेलनमा भने, “त्यस समयदेखि हाम्रा ११ लाख नागरिकहरू स्वदेश प्रवेश गरेका छन् ।” 
 
उनले भने, “मस्कोसित युद्ध सुरु भएदेखि नै झन्डै ५० लाख मानिसहरूले पूर्वी तथा पश्चिमी दुवै दिशाबाट गरी युक्रेनी सीमा पार गरेका छन् ।” डेमचेन्कोले फर्कनेहरूमध्ये कति जनाले युद्धका कारण पहिला देश छोडेका थिए भन्ने कुरा भने बताइएको छैन । 
 
यसैगरी, संयुक्त राष्ट्र शरणार्थी निकाय युएनएचसीआरले रूसले युक्रेनमा आक्रमण गरेको दिन फेब्रुअरी २४ देखि ५० लाख ३४ हजार ४९३ युक्रेनीहरू देशबाट बाहिरिएको जनाएको छ । 
 
युएनएचसीआरका उपप्रमुख केली टि क्लेमेन्ट्सले भने, “यस द्वन्द्वको आठ हप्तामा हामीले ५० लाख मानिसका पीडा र वेदनाका कथाहरू सुनिरहेका वा गनिरहेका छौँ ।”
 
यो दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा द्रूत गतिमा बढ्दै गइरहेको शरणार्थी सङ्कट हो । युद्धग्रस्त देशमा फर्कने मानिसहरूको न्यून तथ्याङ्कले गर्दा अधिकारीहरूले केही चेतावनीहरू दिएका छन् । एजेन्सी