काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको प्रष्ट पारेका छन् ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृसंस्था नेपाल विद्यार्थी संघको ५३औँ स्थापना दिवसका अवसरमा उनले सत्ताका लागिभन्दा पनि लोकतन्त्र, परिवर्तन र संविधान रक्षाका लागि गठबन्धन भएको जिकिर गरेका हुन् ।
“अहिलेको गठबन्धन जो छ यो सत्ताका लागि होइन, व्यवस्थाका लागि गठबन्धन हो, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र नभई लोकतन्त्र र नेपालको परिवर्तनलाई बचाउनका लागि भएको हो, नेपाललाई अग्रगामी रुपान्तरण गर्नका लागि यो गठबन्धन भएको हो,” उनले भने । गठबन्धनलाई आफ्नो हैसियतअनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
वरिष्ठ नेता पौडेलले राजा महेन्द्रले संसद् भङ्ग गरेर तानाशाही व्यवस्था लागू गरेको अवस्थामा नेविसंघ जन्मेको भन्दै लोकतन्त्रको बाटोमा नेपाललाई अगाडि बढाउन नेविसंघको ठूलो भूमिका रहेको बताए ।
उनले नेविसंघको केन्द्रीय कार्यसमितिलाई चाँडो पूर्णता दिनुपर्नेमा जोड दिए । नेविसंघ संस्थापक सदस्यसमेत रहेका नेता पौडेलले नेविसंघको लाखौँ सदस्यता छापेर स्कुल तथा गाउँसम्म लैजानुपर्ने उल्लेख गरे ।
कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिक इतिहासमा नेविसंघको ठूलो भूमिका रहेको बताउँदै नेविसंघलाई आगामी दिनमा विद्यार्थीको अभिभावक सङ्गठनका रुपमा अगाडि बढाउन वर्तमान नेतृत्व लाग्नुपर्नेमा जोड दिए ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान रक्षाका लागि गठबन्धन सरकार बनेको बताउँदै आवश्यकताका आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुनुपर्ने उल्लेख गरे । नेविसंघलाई आगामी दिनमा सशक्त बनाएर अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले नेविसंघ बलियो भएमात्र कांग्रेस बलियो हुने भन्दै नेविसङ्घलाई बलियो बनाउन लाग्नुपर्ने बताए ।
कांग्रेस प्रवक्ता एवम् केन्द्रीय सदस्य डा प्रकाशशरण महतले इतिहास बोकेको सङ्गठन नेविसङ्घभित्र लोकतान्त्रिक विधि, संस्कार र पद्धति हुनुपर्ने बताए । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा महतले नेकपा सरकारले दुईपटक सरकार सञ्चालन गर्न नसकेर संसद् विघटन गरेकाले कांग्रेसले सरकारको नेतृत्व लिन बाध्य हुनुपरेको बताए ।
कांग्रेस केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेविसङ्घको ठूलो भूमिका रहेको बताए । “नेविसङ्घ बलियो भए कांग्रेस बलियो हुन्छ, कांग्रेस बलियो भए, गणतन्त्र, लोकतान्त्रिक मूल्य मान्यता, प्रेस स्वतन्त्रता बलियो हुन्छ,” उनले भने ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु (समाजवादी) का अध्यक्ष सुदेश पराजुलीलगायतले लोकतन्त्र र संविधानको रक्षा गर्दै विद्यार्थी आन्दोलनमा देखिएका चुनौती चिर्न विद्यार्थी सङ्गठनहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा कलेज अफ बायोमेडिकल इन्जिनियर एन्ड एप्लाइड साइन्सेजका विद्यार्थी काउन्सिल अध्यक्ष दीपराज बुढाथोकी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनलाई पार्टी उपसभापति गुरुङ र महामन्त्री शर्माले पार्टी प्रवेश गराए ।
कार्यक्रममा नेविसङ्घको क्यालेन्डर विमोचन गर्नाका साथै नेविसङ्घ मोबाइल एप्ससमेत सार्वजनिक गरिएको थियो । उक्त एप्समार्फत नयाँ विद्यार्थीले नेविसङ्घको सदस्यता लिन मिल्नाका साथै एप्समार्फत अध्ययन गर्नसमेत सकिने अध्यक्ष शेर्पाले बताए । रासस
प्रतिक्रिया