मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताएका हुन् । 
 
“गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका छौँ, कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ, गठबन्धन अहिले तोड्नु हुँदैन, निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ,” प्रधानमन्त्री देउवाले भने । 
 
सभापति देउवाले जबसम्म गाउँ र स्कूल तहमा नेविसंघ गठन हुन सक्दैन तबसम्म नेविसंघ बलियो हुन नसक्ने बताए । 
 
“नेविसंघको संगठन देशभरका कलेज र क्याम्पससम्म फैलिएको छ, तर पनि हामी किन स्ववियु निर्वाचनमा हारिरहेका छौँ, यसबारे नेविसंघ गम्भीर हुनुपर्छ, स्कुल जित्न सकेमात्र कलेज र क्याम्पसमा जित्न सक्छौँ ,” उनले भने । गाउँगाउँ र स्कुल स्कुलसम्म नेविसंघ बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।
 
सभापति देउवाले पार्टीभित्र भागबण्डामा झगडा हुने भएकाले नेविसंघको कार्यसमिति विस्तारमा समस्या हुने गरेको बताए । उनले आफू नेविसंघको अध्यक्ष भएर प्रधानमन्त्री भएको बताउँदै अब मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने पालो युवा विद्यार्थीको भएको बताए । 
 
“राजनीति गरेरमात्र अब चल्दैन पढाइसमेतमा योग्य हुनुपर्छ”, सभापति देउवाले भने । कांग्रेस एक भएर अगाडि बढे आगामी निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने दाबीसमेत उनले गरे ।
 
स्थापना दिवसको उक्त कार्यक्रममा सभापति देउवाले नेविसङ्घका संस्थापक सभापति विपीन कोइराला, उपसभापति सनद रेग्मी, महामन्त्री टीका पोखरेल, सदस्य रामचन्द्र पौडेल, सुरेन्द्रबहादुर विष्ट, केदार न्यौपाने, भरत पाण्डे, दामोदर गौतम, चक्रराज पन्त, बसन्त गुरुङ, राजन्द्रबहादुर शाहलगायतलाई सम्मान गरेका थिए । रासस