मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्छौं : महामन्त्री शर्मा

निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्छौं : महामन्त्री शर्मा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएका छन् । 
 
नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको बृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताए । 
 
“संविधानरक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्छ, आगामी स्थानीय तहको निर्वाचनपछि कांग्रेस मुलुकको पहिलो शक्तिका रूपमा उदाउँछ”, उनले भने । उनले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट पारे । 
 
महामन्त्री शर्माले कांग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीनवटा सरकार कांग्रेसले चलाउने गरी कांग्रेस अगाडि बढ्ने बताए । उनले कांग्रेस भाषणभन्दा काममा लाग्ने बताउँदै आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकामा कांग्रेसले जित्ने बताए । 
 
देश विकासको नेतृत्व कांग्रेसले गरेको बताउँदै महामन्त्री शर्माले अमेरिकी सहयोग सम्झौता (एमसिसी) बारे जनतामा छरिएको भ्रम चिर्नु जरुरी रहेको बताए । “एमसिसी पास भएपछि अमेरिकी सेना आउँछ भनेर भ्रम फैलाउने काम भएको छ, कांग्रेसले कुनै पनि देशको शैन्य रणनीति स्वीकार्दैन”, उनले भने । कांग्रेसले विदेशमा बिजुली निर्यात गरेर देशलाई समृद्ध बनाउन खोजेको उनको भनाइ थियो ।
 
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले घोषणापत्र तयार गरेको जानकारी दिँदै कांग्रेसले वाचा गरेका विषय पूरा गर्ने बताए । उनले तालमेल गर्ने अधिकार स्थानीय तहलाई नै दिएको बताउँदै आवश्यकताका आधारमा तालमेल हुने उल्लेख गरे ।  
 
कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउनका लागि युवा लाग्नुपर्ने बताए । उनले दबाबको आधारमा गठबन्धन नहुने स्पष्ट पारे । 
 
कांग्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले विसं २०४६ पछि ठोरीमा कांग्रेसको पक्षमा जनलहर आएको भन्दै यसलाई गुम्न दिन नहुने बताए । कार्यक्रममा ठोरी गाउँपालिकाका दुई दर्जनभन्दा बढी युवा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । रासस