मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

संविधान रक्षाका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पाण्डे

संविधान रक्षाका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पाण्डे


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । 
 
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको)द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६औँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले संविधान, सङ्घीयता र समावेशी लोकतन्त्रको रक्षाका गठबन्धन आवश्यक रहेको बताएका हुन् । 
 
“संविधानको रक्षाका लागि लागेका दलहरू सँगसँगै अगाडि बढ्दै देशको विकासलाई अगाडि बढाउन गठबन्धन आवश्यक छ”, उनले भने । प्रतिगमनकारी दलहरूबीच हुन लागेको गठबन्धनले पाँच दलीय गठबन्धनलाई कुनै फरक नपर्ने उनको भनाइ थियो ।
 
मनमोहन मेमोरियल अस्पतालका संस्थापक अध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्नका लागि विदेशी लगानी भित्र्याउनुपर्ने बताए । “अस्पताललाई अब नयाँ ढङ्गले सञ्चालन गर्नुपर्छ”, उनले भने ।
 
मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले उच्च शिक्षा ऐन पारित गरेको बताउँदै सोही ऐनअनुसार मनमोहन अस्पताललाई पनि विश्वविद्यालयका रूपमा अगाडि बढाउन सकिने धारणासमेत राखे । उनले मनमोहन अस्पतालमा कर्मचारी भर्ना, बढुवा, सरुवा गर्दा निश्चित मापदण्ड बनाउनुपर्ने बताउँदै नयाँ सञ्चालक समितिलाई इमान्दार र लगनशील भएर काम गर्न आग्रह गरे । 
 
विसं २०६२ चैत ४ गते सहकारी दर्ता गरेर विस २०६३ जेठ १ गतेदेखि काठमाडौँमा सञ्चालनमा आएको मनमोहन अस्पतालले अहिले झापाको बिर्तामोडमा समेत १०० शय्याको अस्पताल सञ्चालन गरेको छ ।
 
यस्तै काठमाडौँको रविभवनमा मनमोहन मेमोरियल इन्च्टिच्युट अफ हेल्थ साइन्स, काठमाडौँको दहचोकमा अस्पताल भवनसमेत निर्माण गरेको छ । स्थापनामा २८ जना संस्थापक शेयर रहेको अस्पतालमा हाल दुई हजार ६०० भन्दा बढी शेयरधनी रहेको सो अस्पतालले जनाएको छ । रासस