मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेसद्वारा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन

कांग्रेसद्वारा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन


काठमाडौँ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
 
बैठकले पार्टी आवद्ध भ्रातृसङ्घ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय गरेको हो ।
 
पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत काम, कर्तव्य र अधिकारसमेत तोकी विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
 
बैठकले भ्रातृसङ्घ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गर्ने निर्णय गरेको छ । 
 
समितिका संयोजकले उपसमितिका संयोजक मनोनयन गर्ने र उपसमितिका संयोजकको परामर्शमा परिचालन समितका संयोजकले उपसमिति गठन गर्ने निर्णय गरिएको छ ।
 
यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको कार्यादेश २०७८ लाई अनुमोदन गर्ने, स्थानीय तह निर्वाचनका लागि सातै प्रदेश र ७७ वटै जिल्लामा काम, कर्तव्य र अधिकारसमेत तोकी केन्द्रीय प्रतिनिधि खटाउने बैठकले निर्णय गरेको उनले जानकारी दिए । 
 
बैठकले प्रदेश कार्यसमितिलाई मातहतका जिल्लाअन्तर्गत पालिकामा प्रदेश प्रतिनिधि खटाउन निर्देश गर्ने, स्थानीय तह निर्वाचनको चुनावीसभालाई व्यवस्थित, सभ्य र छरितो बनाउन ‘चुनावीसभा व्यवस्थापन मापदण्ड’लाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
 
बैठकमा समिति सदस्य पार्टी केन्द्रीय सदस्य श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, उदयशम्शेर राणा, नैनसिंह महर, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, हरिशरण नेपाली र सीताकुमारी रानालगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । रासस