मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

तीनबुँदे सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता

तीनबुँदे सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को टोलीले भेटवार्ता गरेको छ । 
 
भेटका क्रममा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे तथा नेकपाका तर्फबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी रहेका थिए । 
 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन र निर्धारित स्थानीय तह निर्वाचनबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । 
 
भेटमा मुख्यगरी सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिमा उल्लेखित विभिन्न आरोपमा जेलमा रहेका नेकपामा नेता कार्यकर्ताको रिहाइ र अदालतमा रहेका मुद्दा फिर्ताबारे कुराकानी भएको बताइएको छ । 
 
भेटका क्रममा नेकपाका नेताले कार्यकर्ता रिहाइ र मुद्दा फिर्तालाई छिटो टुङ्गोमा पुर्‍याउन आग्रह गरेका थिए । सोही अवसरमा नेकपासँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री देउवाले बताएका थिए । 
 
वार्तामा नेकपा बैठकको निर्णयअनुरूप निर्वाचनमा भाग लिएमा सहजीकरण गर्न सरकार तयार रहेको सरकारी पक्षले बताएको थियो । वार्तामा सरकारी पक्षले नेकपा निर्वाचनमा माग लिने भएमा निर्वाचन आयोगमा दल दर्ता, बन्दी नेता कार्यकर्ता रिहाइ, छूट मतदाता नामावली थप गर्न पहल गर्न सकिने बताएको थियो ।
 
नेकपाका तर्फबाट वार्तामा सहभागी नेताहरूले आफूहरू सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन भएमा निर्वाचनमा सहभागी हुने बताएका थिए । 
 
नेकपा र तत्कालीन सरकारबीच २०७७ फागुन २० गते तीनबुँदे सहमति भएको थियो । सहमतिमा दुवै पक्षले राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरूपमा सञ्चालन गर्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने र कारागारमा रहेका नेकपाका नेता कार्यकर्ता रिहाइ र मुद्दा खारेज गर्ने सहमति भएको थियो । 
 
सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध यसअघि नै फुकुवा गरिसकेको छ । रासस

शेयर गर्नुहोस:

81
Shares