मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विदेशमा बस्ने नेपालीका लागि डलर खाता : आश गरौँ, भर नपरौँ

विदेशमा बस्ने नेपालीका लागि डलर खाता : आश गरौँ, भर नपरौँ


मेरिका । विदेशमा बस्ने नेपाली अमेरिकी डलरमा खाता खोल्न इच्छुक छन् ? यसको सीधा उत्तर छ, छैनन् । चासो नै छैन । कतिलाई कसरी खाता खोल्न सकिन्छ थाहा पनि छैन । 
 
चासो नहुनुमा केही कारण छन् । पहिलो- अमेरिका, अष्ट्रेलिया, युरोपजस्ता देशमा रहेका नेपालीले त्यहीँ सम्पत्तिमा लगानी गर्न थालेका छन् । अमेरिकामा अहिले ठूलो संख्यामा नेपाली घर जग्गा, व्यवसाय, शेयर मार्केट र क्रिप्टोकरेन्सीमा पैसा लगाएका छन् । अष्ट्रेलिया र युरोपमा पनि घर किन्ने क्रम बढेको छ । 
 
नेपालमा घरजग्गाको मूल्य अत्यधिक महँगो भएकाले पनि नेपाली विदेशमा लगानी गर्न आकर्षित भएका हुन् । 
 
दुई वर्षअघिसम्म नेपालमा जग्गा जमिन किन्न पैसा पठाएका अमेरिका निवासी कयौँ नेपालीले अहिले अमेरिकामा ठूला-ठूला प्लट जमिन किनेका छन् । नर्थ क्यारिलोना, टेक्सस, भर्जिनियाजस्ता स्थानमा नेपालीले जग्गाजमिन जोडेका छन् । 
 
अर्को- विदेश मुद्रा डलरमा खाता खोल्दा के कति फाइदा हुन्छ भन्ने हो । यहाँ कमाएको पैसा नेपाली बैंकमा डलर खाता खोल्दा खासै फाइदा हुने अवस्था नेपालीले देखेका छैनन् । 
विदेशबाट डलर पठाउँदा केही कमिसन लाग्छ । यस्तै डलर फेरि विदेश फिर्ता लैजाँदा पनि कमिसन तिर्नुपर्छ । यो अवस्थामा ४/५ प्रतिशतको व्याजदरले विदेशमा बस्ने आमनेपालीलाई डलर खाता खोल्न खासै आकर्षित गर्दैन । 
 
नेपालमा डलर खाता खोल्दा कुनै पनि बेला चाहिएको समयमा विदेशमा फिर्ता लान पाइन्छ कि पाइँदैन भन्ने हो । विदेशमा बस्ने नेपालीले डलर खाता खोल्दा के कस्ता समस्या छन् ? कस्ता कागजात बैंकले माग्छन् यसबारेमा बृहत अध्ययन भएकै छैन । त्यसैले यसबारेमा विदेशमा बस्ने नेपालीलाई कुनै चासो नै छैन । 
 
अर्थमन्त्री, अर्थससचिव, राष्ट्र बैंकलगायतले एनआरएनएसँग मिलेर कसरी विदेशमा बस्ने नेपालीलाई डलर खाता खोल्न जोड दिने उद्देश्यले बुधबार छलफल आयोजना गर्दैछन् । यस्तो छलफल दोस्रो पटक हुन लागेको हो । भारतले सन् १९९० तिर विदेशी मुद्राको संकट पर्दा यसरी नै विदेशमा बस्ने भारतीयलाई डलर खाता खोल्न दिएको थियो । यो सफल पनि भयो । 
 
तर, नेपालमा अहिलेको अवस्थामा यो सफल हुन्छ भन्ने छैन । अर्थमन्त्री, अर्थसचिव, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोगका पदाधिकारी तेस्रो चरणको आर्थिक सुधारका लागि तयार नहुँदासम्म अर्थतन्त्रमा अहिले देखिएको संकट हट्न सक्दैन । 
 
ठुलो संख्यामा विदेशमा नेपाली बस्दै आए पनि केही सीमित व्यक्तिसँग मात्र बचत गर्न सक्ने क्षमता छ । धेरैको पैसा उपभोगमै जान्छ । यसैले डलर खाता खोल्न दिएर अहिलेभन्दा बढी विदेशी मुद्रा भित्र्याउने इच्छा राख्नु सजिलो हो तर, यसमा भर नपर्दा हुन्छ ।