मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

आसन्न निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन आग्रह

आसन्न निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन आग्रह


रुपन्देही । आसन्न स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन आग्रह गरिएको छ । सिर्जनशील संस्था नेपालको आयोजना तथा सञ्चारिका समूह रुपन्देहीको समन्वयमा आइतबार बुटवलमा आयोजना गरिएको ‘आगामी निर्वाचनमा महिला सहभागिता, उम्मेदवारदेखि मतदाता’ विषयक बहस कार्यक्रमका सहभागीले दबाबविना महिलाले मतदान दिने र मुख्य पदमा समेत उम्मेदवारी दिने पाउने वातावरण सुनिश्चित गर्न माग गरे ।
 
विभिन्न राजनीतिक दलले उम्मेदवारी छनोट गर्दा महिलालाई कम प्राथमिकता दिने गरेको गुनासो गर्दै सहभागीले यो निर्वाचनमा क्षमतावान् महिलालाई स्थान दिने कुरामा कन्जुस्याइँ नगर्न दलहरुलाई अनुरोध गरे ।
 
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले महिलाले अवसर पाए जस्तोसुकै जिम्मेवारी पूरा गर्नसक्छन् भन्ने प्रमाणित भएको बताइन् । “कामले काम सिकाउने हो, हामीले स्थानीय तहमा जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेनौँ”, उनले भनिन् । आवाज उठाएकै कारण पद पाउँदिन कि भन्ने सोच नराख्न आग्रह गर्दै दलहरुले सबैलाई समावेश गरेर जानुपर्ने धारणा राखे । 
 
लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले पार्टीमा बार्गेनिङ क्षमता बढाउन महिलाहरुलाई आग्रह गरे । “महिला सहभागिताका विषयमा राजनीतिक पार्टीले पुनः विचार गर्नुपर्छ, महिलाहरुले पनि जिम्मेवारी नपाए मत हाल्दा विचार गर्छौं भन्न सक्नुपर्छ”, सचिव थापाले भने । पार्टीमा उम्मेदवारी दिने पद्धति पारदर्शी बनाउनुपर्ने उनको सुझाव छ ।
 
सञ्चारिका समूह रुपन्देहीका सल्लाहकार इन्दिरा अर्यालले महिला नेतृत्वमा जाँदा गुटबन्दी र बदलाको भावना कम हुने भएकाले अध्ययनशील र सङ्घर्षशीललाई अवसर प्रदान गर्न राजनीतिक दलका प्रमुखलाई आग्रह गरिन् । 
 
अधिकारकर्मी अधिवक्ता इन्दिरा आचार्यले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता जरुरी रहेकामा जोड दिइन् । आरक्षणलाई समेत खुम्च्याउने काम भएको जनाउँदै उनले संवैधानिक व्यवस्था कार्यान्वयनमा समेत ध्यान दिन आग्रह गरिन् । 
 
ब्लु डाइमन्ड सोसाइटीका प्रतिनिधि आनिक रानाले यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई सधैँ पछाडि पार्ने काम भएकाले अब सबैको पहिचान र अस्तित्व स्वीकार गर्ने वातावरण निर्माण हुन आवश्यक रहेकामा जोड दिइन् ।
 
नेकपा (माओवादी केन्द्र) का रुपन्देही अध्यक्ष निर्मल जिसीले पार्टीमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न नीति बनाइएको जानकारी गराउँदै आगामी दिनमा महिला सहभागिता अझै बढाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
 
नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हरि अर्यालले नेतृत्वमा महिला सहभागिता बढ्दै गएको जनाउँदै इच्छाशक्ति, तत्परता र सामर्थ्य भएका महिलाले अवसर पाउने धारणा राखे । 
 
नेकपा (एकीकृत समाजवादी) का उपसचिव सरिता श्रीसले महिला अधिकारका कुरा गर्दा हाम्रो हैसियत माग्नेमै सीमित रहेको बताइन् । “पार्टी पनि यही समाजले बनाएको हो, पार्टीमा आबद्ध नेताले बोक्ने मानसिकता पनि समाजकै व्यवस्थाबाट निर्देशित छ”, उनले भनिन् ।
 
राष्ट्रिय जनमुक्ति पार्टीका महिला मोर्चा अध्यक्ष ज्योति थापाले पार्टीले ५० प्रतिशत महिला सहभागिताको माग गर्दै आएको बताइन् ।  
 
कार्यक्रममा सिर्जनशील संस्था नेपालका अध्यक्ष प्रतिमा शर्मा, महासचिव बिजु पौडेल, सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतम, लुम्बिनी सामुदायिक टेलिभिजनका समाचार प्रमुख भगवती पाण्डे, रीता केसी, मञ्जु भुसाललगायतले सरकारमा सहभागी दलहरूबीच आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनको तयारी भइरहँदा यसअघिको निर्वाचनबाट स्थानीय तहमा बनेको महिला उपस्थिति कम हुने आशङ्का व्यक्त गर्दै यसो हुन नदिन दलहरुलाई आग्रह गरे । रासस
 

शेयर गर्नुहोस:

108
Shares