मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

ठूला दलको विकल्पमा सही नेतृत्व निर्वाचित गरौँ : अध्यक्ष लिङ्देन

ठूला दलको विकल्पमा सही नेतृत्व निर्वाचित गरौँ : अध्यक्ष लिङ्देन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो दलले जितेका स्थानमा १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरिने बताएका छन् ।  
 
पार्टीको बागमती प्रदेश कार्यसमितिले शुक्रबार आयोजना गरेको सभामा अध्यक्ष लिङ्देनले स्थानीय तहमा पूर्वाधार विकास, सम्पदा संरक्षण, ग्रामीण तथा सहरी विकासमा आफ्नो दलको नयाँ सोच र दृष्टिकोण भएकाले वडा, पालिका, नगरका साथै महानगरमा आफ्नो उम्मेदवारलाई निर्वाचित गर्न आग्रह गरे । 
 
ठूला दलले तीन दशक लामो समयसम्म पनि देश विकास तथा आर्थिक समृद्धि कायम गर्न नसकेकाले विकल्पका रूपमा राप्रपालाई मदतान गर्न आग्रह गर्दै उनले भने, “निजीकरणका नाममा सरकारी उद्योग धरासायी भएको छ, रोजगारीको अभावमा युवाशक्ति विदेशिन बाध्य भएको छ, यथास्थितिलाई निरन्तरता दिएमा भावी सन्ततिले धिकार्ने छन्, अब देश बनाउन र बचाउन खाँचो छ ।’’
 
पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा गरिबी न्यूनीकरण गरी आर्थिक समृद्धि कायम गर्न परिवर्तनको खाँचो रहेको औँल्याउँदै त्यसका लागि राप्रपा संवाहक भएको विचार व्यक्त गरे । उनले विविधताले भरिएको देशमा सबै नागरिकको आत्मसम्मानको रक्षा गर्नुपर्नेमा जोड दिए । 
 
अर्का पूर्वअध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई रोक्न सनातन धर्म, हिन्दू राष्ट्रको जगेर्ना गर्नुपर्ने बताए । पार्टीका उपाध्यक्ष, महामन्त्री, प्रवक्तालगायतले देशभर पार्टीले लिएको विचारका कारण अहिले नयाँ पुस्ता पार्टीप्रति आकर्षित भएको बताए । रासस