मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कानुनभन्दा माथि कोही पनि जानु हुँदैन : सभामुख सापकोटा

कानुनभन्दा माथि कोही पनि जानु हुँदैन : सभामुख सापकोटा


सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले देशका उच्च पदमा रहेका कोही पनि कानुनभन्दा माथि जान नहुने बताएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत सबैले कानुन मान्नुपर्नेमा जोड दिँदै ‘ठूलालाई चयन सानालाई ऐन’ भने जस्तो हुनु राम्रो नभएको भन्दै उनले उच्च पदमा रहेकाले यसमा ध्यान दिनुपर्ने बताए । 
 
चौतारा साँगाचोकगढी नगरपालिका–६ मा नवनिर्मित भ्यूटावरसहितको बुद्धपार्कको आज उद्घाटन गर्दै उनले सबैभन्दा माथि कानुन अनि मात्र पद रहेको बताए । उनले सङ्घीयता कार्यान्यनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
 
उनले भ्रष्टाचार भनेको पैसाको लेनदेन मात्र नभई पदको दुरुपयोग पनि भएकाले अब युवा जागेर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए । सभामुख सापकोटाले आज ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गरे । नगरपालिकाले गौरवको आयोजनाका रुपमा थालनी गरेको बुद्धपार्क दारेगौरा भिरमा अवस्थित छ । उनले भ्यूटावरसहितको बुद्धपार्कले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताए । 
 
सङ्घीय सांसद एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बुद्धपार्कको निर्माणले चौतारा साँगाचोकगढी नगरपालिकालाई थप पर्यटकीय पहिचान दिएको बताए ।
 
समुद्री सतहबाट करिब एक हजार ७०० मिटरको उचाइमा रहेको बुद्धपार्कबाट उत्तरको जुगल हिमशृङ्खला, गौरीशङ्कर हिमालको अवलोकन गर्न सकिन्छ भने पूर्वी क्षेत्रका मुडेलगायत अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ । त्यस्तै दक्षिणतर्फका धुलिखेल र नगरकोटलगायतको भूभागको दृश्य अवलोकन गर्न सकिन्छ ।
 
जिल्लाकै प्रख्यात भीमेश्वर मन्दिरबाट एक किलोमिटर मात्र पर रहेको बुद्धपार्क धार्मिक पर्यटनको केन्द्र बन्ने विश्वास नगरपालिकाले लिएको छ । साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिङ तामाङले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीयको आयस्रोतमा वृद्धि गरी सिङ्गो नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुद्धपार्कको निर्माण गरिएको बताए ।
 
सदरमुकाम चौताराबाट तीन किलोमिटर दुरीमा रहेको बुद्धपार्क पुग्नका लागि नगरपालिकाले वैकल्पिक पदमार्गका रूपमा निर्माण गर्दै गरेको हजार सिंढीको कार्य पनि अन्तिम चरणमा पुगेको छ । नगरपालिकाको आन्तरिक स्रोतमार्फत रु सात करोड ६७ लाखको लागतमा बुद्धपार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ । रासस