मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री राउत

प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री राउत


नकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउनु आवश्यक रहेको बताएका छन् । 
 
प्रदेशसभाको आज बसेको बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले महिलालाई सक्षम र योग्य नबनाएसम्म प्रदेश र समाज समृद्ध बन्न नसक्ने बताए । 
 
समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेकाले महिलालाई सक्षम, सबल र योग्य बनाउन सरकारले हरेक निकायमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको उल्लेख गर्दै उनले प्रदेश सरकार स्थापना भएदेखि महिलाको समान सहभागिताको सवालमा गम्भीरतापूर्वक कार्य गर्दै आएको दाबी गरे । 
 
“छोरी जन्मिएपछि आमाबुबा दुःखी हुने र छोरा जन्मिएपछि खुसी मनाउने परिपाटी देखिएको छ”, मुख्यमन्त्री राउतले भने, “समाजमा छोरीलाई हेरिने दृष्टिकोण परिवर्तन ल्याउन र छोरीलाई पनि छोरासरह सक्षम बनाउन छोरी बीमा कार्यक्रम, साइकल वितरण, लोकसेवा कक्षा सञ्चालनलगायत कार्य गर्दै आएको छ ।” 
 
प्रदेशको आठवटै जिल्लाका आठ हजार छोरीलाई ल्यापटप वितरण गर्ने योजना ल्याएको मुख्यमन्त्री राउतको भनाइ थियो । 
 
छोरीप्रतिको सामाजिक धारणामा परिवर्तन ल्याउन र छोरीलाई पनि सक्षम बनाउन सरकारले विधेयक ल्याएको उल्लेख गर्दै उनले विधेयक पारित गर्न आग्रहसमेत गरे । 
 
आज बसेको बैठकमा प्रदेश सरकारले अघिल्लो बैठकमा प्रस्तुत गरेको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ को प्रतिस्थापन गर्न बनेको विधेयक तथा प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रतिस्थापन गर्न बनेको विधेयक र खोप सेवा सञ्चालन व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । प्रदेशसभाको अर्को बैठक चैत २५ गते दिउँसो १ बजे बस्ने जनाएको छ । रासस