महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दसहित २६ जना निर्वाचित जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
पार्टीको नगरस्तरीय आमसभामा आइतबार समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नगरप्रमुख चन्दसहित पाँच जना वडाध्यक्ष र वडा सदस्यलाई पार्टी प्रवेश गराएका छन् । समाजवादी प्रवेश गर्ने चन्दसहित सबै जनप्रनितिधि विसं २०७४ मा स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् ।
सो अवसरमा नगरप्रमुख चन्दले पार्टीमा अपमानित र षड्यन्त्रहरू हुन थालेपछि बाध्य भएर पार्टी परिवर्तन गर्नुपरेको बताए । उनले १० बुँदे पक्षधर तथा पूर्वमाओवादीबाट एमालेमा रहेकालाई जिल्लामा विभेद गर्नुका साथै जिम्मेवारीबाट वञ्चित गराएको बताए । गत पुसमा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा सचिव पदमा झिनो मत अन्तरले पराजित भएका चन्दले आफू निकट नेता तथा कार्यकर्ता जिल्ला नेतृत्वको पेलानमा परेको दाबी गरे ।
विसं २०५६ मा तत्कालीन दैजी गाविसमा गाउँ कमिटी सदस्यबाट एमालेको राजनीतिमा लागेका चन्दले २२ वर्ष पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरेको अनुभव सुनाए ।
एमाले र माओवादी एकीकरणपछि उनी पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका थिए । नगरप्रमुख चन्दसँगै एमालेका जिल्ला कमिटी सदस्य एवं बेदकोट नगरपालिकाका युवा नेता रामचन्द्र रेग्मीलगायत सयौँ नेता तथा कार्यकर्ताहरू समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी बेदकोट नगर कमिटीले जनाएको छ ।
निर्वाचनमा जुट्न नेपालको आग्रह
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित सभामा अध्यक्ष नेपालले पार्टी नेतृत्वको ध्यान पनि निर्वाचनमा केन्द्रित भएको बताए । “वडा हुँदै टोलटोलमा कमिटी बनाउन ढिलाइ नर्गनुस्”, उनले भने, “जनताको घरदैलोमा गएर प्रचारप्रचार गरेर कलम चिह्नमा भोट माग्नुहोस् ।”
गठबन्धनमा सहभागी पार्टीहरुबीच निर्वाचनमा एकताबद्ध भएर जाने विषयमा वार्ता भइरहेको अध्यक्ष नेपालले उल्लेख गरे । “संविधान बचाउन र गणतन्त्र बचाउन चाहने पार्टी एक ठाउँमा उभिनेछन्”, उनले भने । क्रान्तिकारी सोच बोकेर विद्रोहको झण्डा बुलन्द गरी अगाडि बढेको उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनबाट ७५३ पालिकामा करिब ३२ हजार जनप्रतिनिधि निर्वाचित हुने जानकारी दिए ।
“गल्ती भयो भनेर महसुस गरी समाजवादीमा आउन आग्रह गर्छु”, बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दसहित दुई दर्जन बढी जनप्रतिनिधिलगायतलाई पार्टीमा प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले भने । रासस







प्रतिक्रिया