मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

‘राजनीतिमा तानातान र सडकमा गाली चल्नु दुःखद्’ : महामन्त्री शर्मा

‘राजनीतिमा तानातान र सडकमा गाली चल्नु दुःखद्’ : महामन्त्री शर्मा


झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा तानातान गर्ने र सडकमा एकअर्कामा गाली चल्नु दुःखद् रहेको बताएका छन् । 
 
झापाको शान्तिनगरमा पवित्रा भेषराज प्रतिष्ठानद्वारा आज आयोजित पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा उनले राजनीतिमा सबै खराब छन् भनेर नबुझ्न आग्रह गरे ।  
 
उनले राजनीतिलाई सिर्जनशील बनाउन जरुरी रहेको बताउँदै भने, “देशको सुदृढीकरणको खाका बनाउनुपर्छ, राजनीतिमा सबै खराब छन् भनेर बुझ्नु न्यायोचित हुँदैन ।” शिक्षा र सञ्चारलाई प्राथमिकतामा राखेर प्रतिष्ठानका गतिविधि सञ्चालन गरिरहेको पवित्रा भेषराज प्रतिष्ठानको उच्च सम्मान गर्दै शर्माले प्रतिष्ठानले सामाजिक रुपान्तरण एवं शैक्षिक क्षेत्रमा गरेको काम सराहनीय रहेको धारणा राखे ।
 
प्रतिष्ठानले नवौँ वार्षिकोत्सवमा आज पत्रकार र विद्यालयसहित १० प्रतिभालाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्यक्रममा पत्रकार भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार इन्दु पूर्वेलीलाई नगद रु २५ हजार राशिको पुरस्कार प्रदान गरिएको थियो ।
 
भद्रपुर–९ मा अवस्थित जनजागृति माध्यमिक विद्यालय पहाँतुबारीलाई उत्कृष्ट विद्यालयका रूपमा पवित्रा–भेषराज खतिवडा शिक्षा पुरस्कारबाट पुरस्कृत गरिएको छ । माविलाई नगद रु ५१ हजार राशिको पवित्रा–भेषराज खतिवडा पुरस्कार प्रदान गरिएको हो । सामुदायिक विद्यालयमा पढाइ हुने अनिवार्य विषयमध्येबाट उत्कृष्ट शिक्षकका रूपमा शान्ति आदर्श माविमा अध्यापनरत नेपाली विषयकी शिक्षिका दिलु अधिकारी, समुदाय, विद्यालय र शिक्षकबीच समन्वयकारी भूमिका निर्वाह गर्ने उत्कृष्ट मेचीनगरस्थित आदर्श मावि इँटाभट्टाकी शिक्षिका प्रतिमा चापागाईँलाई पुरस्कृत गरिएको छ ।
 
त्यसैगरी प्रतिष्ठानले बुद्धशान्ति, मेची नगरपालिका र रोङ गाउँपालिकाका सामुदायिक विद्यालयबाट एसइई उत्कृष्ट धुलाबारी माविका स्नेहा श्रेष्ठ, प्रज्ञा विष्ट र यमुना तिम्सिना तथा गढीगाउँ मावि शान्तिनगर अनुप काफ्ले र प्रारुपराज लाखेलाई जनही रु दुई–दुई हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा लोपोन्मुख जाति लाप्चा समुदायबाट शान्ति आदर्श माविको कक्षा ११ र १२ मा अध्ययनरत सुमन लाप्चा र नीरमाया लाप्चालाई पुरस्कृत गरिएको थियो ।
 
यसै वर्ष दिवङ्गत भएका खतिवडा परिवारका छत्र खतिवडाको स्मृतिमा उनका ससुराली परिवारले सोही क्षेत्रका दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत शैक्षिक सामग्री खरिद गर्न कठिनाइ व्यहोरिरहेका प्रतिविद्यालय ५०–५० बालबालिकालाई पुग्ने शैक्षिक सामग्री प्रदान गरिएको छ ।
 
खतिवडा परिवारका ज्येष्ठ सदस्य सम्मान शालीग्राम खतिवडालाई नगद रु १० हजारसहित सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षता तथा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सो पुरस्कार वितरण गरेका थिए । 
 
पुरस्कृत प्रतिभाहरूको घोषणा पुरस्कार छनोट समितिका अध्यक्ष चन्द्र भण्डारीले गरेका थिए । विसं २०७० मा दिवङ्गत हजुरआमा र मातापिताका नाममा पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानको स्थापना गरी शिक्षा र सञ्चार क्षेत्रमा वर्षोत्कृष्ट प्रतिभाको छनोट गरी पुरस्कृत गर्दै आएको छ । रासस