चितवन । कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जालाई भव्य सम्मान गरिने भएको छ । बिहीबार उनलाई चितवनमा सम्मान गर्न लागिएको हो । निर्मल पूर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले पत्रकार सम्मेलनको आयोजना गरी पुर्जालाई सम्मान गर्न लागिएको जनाएको हो ।
उनी गृह जिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष हरिकुमार गुरुङले बताए । उनका अनुसार पुर्जाको सम्मानका लागि चैत १० गते दिउँसो १ः३० बजे भरतपुर विमानस्थलमा स्वागत, २ बजेदेखि लायन्स चोकबाट पुलचोक, पोखरा बसपार्क, रामनगर हुँदै नारायणी तिरसम्म अभिनन्दन यात्रा, ३ बजेदेखि सांस्कृतिक कार्यक्रम, ४ बजे नारायणी नदी किनारमा सम्मान र साँझ ६ बजे वृत्तचित्र प्रदर्शन गरिने छ ।
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गरेका पुर्जाले ती हिमाल आरोहणका लागि छ महिना छ दिन लगाएका थिए । नेपालका आठ, पाँच पाकिस्तानका र एउटा चीनको हिमाल आरोहण गरेका पुर्जा भरतपुर महानगरपालिका–१ रामनगर निवासी हुन् । सन् १९८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा जन्मिएका पुर्जा छ वर्षको उमेरदेखि रामनगरमा बस्दै आएका हुन् ।
सन् २०१२ डिसेम्बरबाट निर्मल पुर्जाले हिमाल चढ्न सुरू गरेका हुन् । उनले आठ हजार मिटरमाथिका १४ हिमाल आरोहण गरेको कीर्तिमान छ । यो कीर्तिमानी उनले दुई वर्षअघि नै बनाएका हुन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ्–हो थिए । उनले १४ हिमालको आरोहण सक्न सात वर्ष १० महिना छ दिन लगाएका थिए । सन् १९८७ मा कायम गरेको कीर्तिमान उनले ३० वर्षपछि छोटो समयमा सम्पन्न गरेर भङ्ग गरेका हुन् ।
बेलायतको इष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्वगोर्खा आरोही पुर्जालाई सम्मान गरेको थियो । पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दी बरो’ उपाधिसहित सम्मान गरिएको हो । उनी नेपाल पर्वतारोहण सङ्घको सद्भावना दूतसमेत रहेका छन् । उनी कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन् । रासस
प्रतिक्रिया