सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अबका तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
सल्यानको छत्रेश्वरीमा निर्मित पार्कको आइतबार उद्घाटन गर्दै उनले भने, ‘‘अबका तिनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ, नेपाली जनताले चाहेको पनि यही हो, यसका लागि हामी कार्यकर्ता पनि लाग्नुपर्छ ।’’
प्रवक्ता डा महतले कम्युनिस्टहरुले जनताले दिएको मतको मूल्याङ्कन र सम्मान गर्न नसकेकाले परिस्थितिवश अहिले कांग्रेस सत्तामा पुगेको प्रसङ्ग उल्लेख गर्दै भने, ‘‘कांग्रेस आफूले चाहेर नभई कम्युनिस्टहरुले देशलाई दुर्घटनामा पार्न लागेकाले नेपाली जनताको चाहना बमोजिम नै कांग्रेसले सत्ताको नेतृत्व गर्नुपरेको हो ।’’
इतिहासमा देशलाई अप्ठ्यारो परेका समयमा यसरी नै कांग्रेसले देशलाई नेतृत्व दिने गरेको र नेपाली जनताले पनि साथ दिएको स्मरण गर्दै प्रवक्ता डा महतले अबका स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा कांग्रेसलाई नै नेपाली जनताले पहिलो पार्टी बनाउने बताए ।
अघिल्लो नेकपाको सरकारको कुशासन र भ्रष्टाचार नेपाली नागरिकले देखेका र त्यस समयको ओली सरकारले दिएका झुठा आश्वासन पनि थाहा पाइसकेकाले नेपाली जनताले अब विवेक पु¥याइ नेपाली कांग्रेसलाई रोज्ने विश्वास उनले दिलाए । उनले अबका सबै निर्वाचनहरुमा एक ढिक्का भई पार्टीलाई जिताउने काममा लाग्न जिल्लाका कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे ।
चैतभित्रै उम्मेदवारहरूको टुङ्गो
उनले नेपाल प्रेस युनियन सल्यानले बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उठ्ने उम्मेदवारहरूको टुङ्गो चैतभित्रै लगाइसक्ने पनि बताए ।
पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुङ्गो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरिएको जानकारी उनले दिए । उनले पहिलेका निर्वाचन जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म पनि पार्टीका तर्फबाट को उठ्ने भन्ने विषयको टुङ्गो नलाग्ने स्थिति यस पटक नआउने र समयमै निर्णय गरिने सो अवसरमा बताएका हुन् ।
प्रवक्ता डा महतले स्थानीय तहको उम्मेदवारीको सामान्य मापदण्ड निर्माण गरिने पनि जानकारी दिए । रासस







प्रतिक्रिया