मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ : अध्यक्ष प्रचण्ड

माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ : अध्यक्ष प्रचण्ड


कास्की । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् ।  
 
प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभई आफ्नै शक्ति, सङ्गठन र मुद्दाका  आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको उनले उल्लेख गरे ।  
 
अध्यक्ष दाहालले भने, “देशव्यापी माओवादीप्रति सकारात्मक जनमत बढ्दै गएको छ, कार्यक्रममा उभार देखिएको छ । केही समयपछि अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आउँदैछ अरु पार्टीसँग जाने होइन । माओवादी पहिलो शक्ति बन्ने सम्भावना देखिएको छ ।”
 
उनले केही दिनअघि एक कार्यक्रममा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा एमालेसँग गठबन्धन हुन्छ भने पनि तत्कालका लागि भने गठबन्धन सम्भव नभएको उल्लेख गरे । अध्यक्ष दाहालले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने र निर्वाचनका बारेमा कुनै पनि दुविधा नरहेको बताए । 
 
उनले भने, “कतिपय वृत्तमा अझै पनि निर्वाचन के हुन्छ भन्ने छ तर निर्वाचन तोकिएको मितिमै हुन्छ, सम्पूर्ण रुपले निर्वाचन प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न सबैमा म अपिल गर्दछु ।” 
 
स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर माओवादीले प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम अघि बढाएको बताउँदै उनले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । रासस