मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए टेक्सस च्याप्टरको ह्युस्टन अन्तरक्रिया

एनआरएनए टेक्सस च्याप्टरको ह्युस्टन अन्तरक्रिया

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (अमेरिका)- गैर आवासीय नेपाली संघको भविष्य, अस्तित्व र यसको गठनको उद्देश्य माथि नै सर्वत्र प्रश्न उठिरहेको बेला  एनआरएनए अमेरिकाको टेक्सस च्याप्टरले भने ह्युस्टनका नेपाली संघ-संस्थाका प्रतिनिधी र नेपाली समुदायसंग निकै सफल अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। आइतवार, मार्च १३ का दिन  सम्पन्न सो अन्तर्किया तथा सामुदायिक परिचयात्मक कार्यक्रममा ह्युस्टनमा सक्रिय नेपाली संस्थाहरु नेप्लिज एसोशियसन अफ ह्युस्टन (एनएएच), सृजनशील नेपाली समाज( सिएनएस), गुल्मी समाज, नेप्लिज हेरिटेज युनियन (एनएचयु), अन्तराष्ट्रिय साहित्य समाज (आइएनएलएस) र अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सका पदाधिकारी/सदस्यहरुका अतिरिक्त एनआरएन अभियानमा संलग्न नेपाली-अमेरिकन समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। 
एनआरएनए टेक्सस च्याप्टरको २०२१-२०२३ कार्यकालका लागि गत साल निर्वाचित कार्यसमितिका प्राय सबै पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा समुदायसंग नयाँ निर्वाचित कार्यसमितिको परिचय समेत गराइएको थियो।
 
समुदायसंग गरिएको पहिलो प्रत्यक्ष अन्तरक्रिया ह्युस्टनबाट शुरु गरेको टेक्सस च्याप्टरले हालसम्म समुदायका लागि गरेका कामहरुको विवरणहरु पनि प्रस्तुत गरेको थियो। छोटो समयमा नै समुदायका लागि निकै काम लाग्ने कार्यक्रम गर्न सकेकोमा टेक्सस च्याप्टरको प्रशंसा समेत भएको थियो। 
जुलाई २०२१ मा पदभार लिए पश्चात सोफिन थापाको नेतृत्वमा रहेको एनआरएनए टेक्सस च्याप्टरले केही प्रशंसनीय कामहरु समेत गरेको छ। च्याप्टरले गरेका केही उल्लेखनीय कामहरुलाई कार्यक्रममा प्रस्तुत गरिएको थियो। जस मध्ये अमेरिकी विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सफलताको कथा/ अनुभव र उदाहरणलाई समेटेर गरिएको उच्च शिक्षा अध्ययनको  तयारी कसरी गर्ने र कसरी राम्रो कलेज/ विश्वविद्यालय छनौट गर्ने भन्ने विषय समावेश गरिएको ‘भर्च्यूअल अन्तर्क्रिया— ‘College and Career Planning, The Right Path to Right School’ कार्यक्रमले कलेज जान तरखर गरिरहेका धेरै नेपाली विद्यार्थी र तिनका अभिभावकहरु लाभान्वित भएको जानकारी गराइयो। 
यसैगरि अमेरिकी विश्वविद्यालयहरुबाट उच्चशिक्षा हासिल गरेका नेपालीहरुलाई लक्षित गरेर कसरी राम्रो काम प्राप्त गर्न सकिन्छ, अन्तरवार्तामा कसरी सहभागी हुने, कस्तो प्रस्तुतिले छनौटकर्ताहरुलाई प्रभावित पार्न सकिन्छ, कामको प्रकृति अनुरूप आफ्नो रेज्यूमी कसरी बनाउने भन्ने विषयमा गरिएको अनलाइन कार्यक्रम ‘ Stairways to Dream Job’  को समेत निकै चर्चा भयो। टेक्सस च्याप्टरले नेपाली समुदायको चासोको विषय ‘ कर दाखिला एवं वित्तीय शिक्षा- ‘Taxation and Financial Literacy’ सम्बन्धी भर्चूअल कार्यक्रम सम्बन्धित क्षेत्रका विज्ञहरुलाई सहभागी गराएर सम्पन्न गरेको र सो कार्यक्रम पनि निकै उपलब्धिमूलक भएको बताइएको छ। 
नेपाली समुदाय लक्षित निशुल्क स्वास्थ्य शिविर, स्तन क्यान्सर बारे सचेतना अभियान, खेलाडी सम्मान, डा. गोविन्द केसीसंग अन्तर्क्रिया, स्थानीय संस्था एनएसटीलाई आर्थिक सहयोग प्रदान, नेपाली युवाको मृत्यु संस्कार व्यवस्थापन सहयोग, पारिवारिक सम्पर्कबाट टाढा भएकाहरुलाई पारिवारिक पूनर्मिलनमा सहयोग, नेपाली महिलाहरुलाई सवारी चालक तालिम लगायतका निकै सकारात्मक र समुदायका लागि काम लाग्ने कामहरुबाट आफ्नो पहिलो आधा वर्ष पुरा गरेको एनआरएनए टेक्सस च्याप्टरले वर्ष २०२२ र  २०२३ का लागि पनि समुदाय केन्द्रित कामहरु गर्ने लक्ष्य राखेको छ। 
केन्द्रमा देखिएको भताभुङ्ग ताललाई देखेर निराश एनआरएनहरुलाई च्याप्टरले सुरुवात गरेको केही राम्रा कामहरुले भने केही राहत दिन खोजेको प्रतिक्रियाहरु सहभागीहरुले व्यक्त गरेका थिए। 
 
एनआरएनको अभियानलाई नै बदनाम गर्न सक्रिय अमेरिकी एनआरएन अभियानका केही अक्षम अगुवाहरुको गतिविधिहरु छरपस्ट देखिरहेका नेपाली समुदायका बीच छलफल र भेटघाटमा सक्रिय रहने अभियानमा रहेका च्याप्टर पदाधिकारीहरुले आगामी दिनमा पनि केन्द्रीय  विवादका विषयले स्थानीय स्तरका एनआरएनए गतिविधी प्राभावित पार्नु हु्न्न भन्ने सुझाव धेरै सहभागीहरुबाट आएको थियो। 
विशेष अतिथिको रुपमा कार्यक्रममा सहभागी एनसीसीका उपाध्यक्ष सुमन थापाले पनि विवादका विषयलाई उठान गर्न रुचाएनन्। बरु स्थानीय संघसंस्थाहरुसंगको  सहकार्यलाई जोड दिएर एनआरएनले नेपाली समुदायका लागि काम गर्नु पर्नेमा थापाले बढी जोड् दिए।
 
समुदायका लागि उल्लेखनीय काम गरेको भन्दै एनआरएनए टेक्सस च्याप्टरले ह्युस्टनमा सक्रिय संस्थाहरु— एनएएच, सिएनएस, एनएचयू, आइएनएलएस, गुल्मी समाज, अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सलाई सम्मानित गरिएको थियो। यसैगरि पत्रकारिताका माध्यमले नेपाली समुदायलाई सूचित गर्न सहयोग गरेको भन्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा)लाई समेत सम्मान पत्र प्रदान गरिएको थियो। 
टेक्सस च्याप्टरका उपाध्यक्ष गंगा शर्माको संयोजन एवं च्याप्टरका अध्यक्ष सोफिन थापाको अध्यक्षतामा आयोजित अन्तर्किया कार्यक्रमको संचालन सचिव डा.चण्डी भण्डारीले गरेका थिए। एनसीसीका उपाध्यक्ष सुमन थापा विशिष्ट अतिथि र दक्षिण क्षेत्रीय समितिका संयोजक बादल भुजेल अतिथिका हैसियतमा सहभागी थिए। 
 
च्याप्टरका कार्यक्रमहरु अझ बढी प्रभावकारी होउन् भन्दै सहभागीहरुले सुझावहरु समेत दिएका थिए। नेपाली भाषा-संस्कृतिको संरक्षण र नयाँ पुस्तामा त्यसको सहज हस्तान्तरणका लागि एनआरएनएले काम गर्नुपर्ने सुझाव निकै प्राथमिकताका साथ राखिएको थियो। आफ्नो अमेरिका बसाइको २७ वर्षमा नेपाली भाषा, संस्कृति र रितिरिवाजहरुका बारेमा गरिएको अनुभव बताएका बाबुराम खरेलले एनआरएनएले स्थानीय संस्थाहरुसंग मिलेर भाषा बचाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिए। 
वरिष्ठ पत्रकार तारा बरालले एनआरएनएलाईं नेपाली राजनीतिको प्रभावबाट मुक्त राखिनु पर्ने, अहिले सतहमा देखिएको विवादहरुले सिङ्गो एनआरएन अभियान नै खतरामा पर्ने तर्फ सचेत हुन युवा एनआरएनहरुलाई सुझाव दिए। 
 
टेक्सस च्याप्टरले सामुदायिक कार्यक्रमहरु गर्दा डालासमा मात्र होइन, ह्युस्टन लगायतका नेपालीहरुको घनत्व रहेको स्थानहरुमा पनि गर्न सुझाव दिइएको थियो। एनएएचका अध्यक्षका. विष्णु नेपाल, एनएएचका उपाध्यक्ष एवं एनआरएन अभियानमा ह्युस्टनका सक्रिय अगुवा द्रोण गौतम, एनआरएनएका विविध प्राविधिक फोरमहरुमा सक्रिय नेपाली इन्जीनियर सतिश त्रिपाठी, सिएनएसकी उपाध्यक्ष अन्जु अर्याल, एनएएचका संस्थापक अध्यक्ष डा. राजेन्द्र श्रेष्ठ, स्यानजसिण्टो कलेजका प्रोफेसर डा. मधु ज्ञवाली, ग़ुल्मी समाजका कार्यवाहक अध्यक्ष लक्ष्मण भण्डारी, सिएनएसका देवेन्द्र शर्मा, नेजाका क्षेत्रीय संयोजक सुजन पण्डित लगायतका सहभागीहरुले टेक्सस च्याप्टरका गतिविधि र आगामी कार्य योजनाहरुका बारेमा सुझाव दिएका थिए। 
संस्थागत सहयोगलाई निरन्तरता दिने उद्देश्यका साथ एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापाले एनएएचका अध्यक्ष डा. विष्णु नेपाल मार्फत ह्युस्टन स्थित पशुपति मन्दिरलाई एकहजार ५१ डलरको सहयोग रकमको चेक एनएएचलाई हस्तान्तरण गरेका थिए। मन्दिरको ट्रष्टी हुन आवश्यक रकम दुई हजार पाँचसय डलरमा नपुग रकम छिट्टै एनएएचलाई हस्तान्तरण गर्ने च्याप्टरका अध्यक्ष सोफिन थापाले प्रतिबद्धता गरेकाछन्।
सहभागीहरुबाट प्राप्त सुझावहरुलाई मार्ग दर्शनको रुपमा लिएर आगामी कार्यक्रम गर्ने प्रतिबद्धता गर्दै सचिव डा. चण्डी भण्डारी र अध्यक्ष सोफिन थापाले स्थानीय संघसंस्थाहरुसंग अझ प्रभावकारी साझेदारी र सुझावको अपेक्षा राखेका थिए। 
राष्ट्रिय समन्वय परिषद (एनसीसी) र अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) बीच जारी द्वन्द्धले निकै विवादित देखिएको एनआरएनएलाई नेपालीहरुको हितका लागि मात्र काम गर्न र पदीय स्वार्थमा लागेका खराब व्यक्तिहरुको चङ्गुलबाट एनआरएन अभियानलाई बचाउन लागिपर्न सहभागीहरुले दिएको सुझाव च्याप्टरका लागि निकै महत्वपूर्ण रहेको अध्यक्ष थापा र सचिव डा. भण्डारीले जानकारी गराएकाछन्।