मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपालका कम्युनिस्टहरुले आफ्नै घरमा आगो लगाएर खरानी घसे : कांग्रेस महामन्त्री थापा

नेपालका कम्युनिस्टहरुले आफ्नै घरमा आगो लगाएर खरानी घसे : कांग्रेस महामन्त्री थापा


चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका कम्युनिस्टहरुले आफ्नै घरमा आगो लगाएर खरानी घसेर देशलाई बर्बादीतर्फ लैजान खोजेको बताएका छन् ।
 
नेपाली कांग्रेस रत्ननगर नगरसमितिले पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं वनभोज सभामा बोल्दै नेता थापाले कम्युनिस्टहरुले आफ्नै घरमा आगो लगाएर खरानी धसेर हिँडिरहेको बताएका हुन् । ‘तत्कालीन नेकपाका नेताहरुले आफ्नै घरमा आगो लगाए’, उनले भने, ‘अहिले उनीहरु खरानी धसेर हिँडिरहेका छन् ।’
 
जनताले पाँच वर्ष स्थायी सरकार चलाउन दिएको जिम्मेवारी नेकपाको सरकारले पूरा गर्न नसकेको भन्दै पार्टी फुटाउनु, सरकारबाट अपदस्थ हुनलेु नेकपाभित्र लागेको आगोको प्रमाण भएको उनले बताए ।
 
कम्युनिस्टको घरमा लागेको आगोले केपी ओलीलाई सिंहदरबारबाट बालकोट पुर्‍याएको सन्दर्भ उल्लेख गर्दै महामन्त्री थापाले अहिले सरकार चलाउने कांग्रेसको रहर नभई कम्युनिस्टहरुले सरकार चलाउन नसकेर कांग्रेसलाई जिम्मा लगाएको बताए ।
 
नेता थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको आग्रहका आधारमा कांग्रेसले सरकारले जिम्मेवारी लिएको बताए । ‘संविधान निर्माणका लागि निर्वाचन हार्न तयार रहेको कांग्रेसलाई सरकार चाहिएकै थिएन’, उनले भने, ‘कम्युनिस्टहरुको आग्रहका आधारमा बनेको सरकारलाई परमादेशबाट बनेको सरकार भन्नु गलत मानसिकताको उपज हो ।’
 
महामन्त्री थापाले एमसिसीको विषयमा एमाले र मओवादीका नेता कार्यकर्तालाई उत्तर कांग्रेसले दिनु नपर्ने बताए । तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओलीले नेपालमा एमसिसी भित्र्याउन पहल गरेको भन्दै उनले एमसिसी सम्झौताको विषयमा कम्युनिस्टका तिनै शीर्ष नेताहरुलाई प्रश्न उठाउन आग्रह गरे ।
 
नेता थापाले एमसिसीलाई आधार बनाएर भ्रम र उत्तेजनाको राजनीति नगर्न एमाले, माओवादी र समाजवादीलाई आग्रह गरे । ‘उत्तेजनाको राजनीति गर्न छाड्नुहोस्’, उनले भने, ‘एमसिसी भित्र्याउने विषयमा कांग्रेस जिम्मेवार होइन ।’ 
 
नेता थापाले चितवनमा गठबन्धन गरेर कांग्रेसीहरुलाई रुखमा भोट हाल्नबाट वञ्चित गर्नुहुन्न भन्ने जिल्लाका नेता तथा कार्यकर्ताको सन्देश बोकेर आफू काठमाडौँ फर्किने बताए । चितवनमा गठबन्धनविना नै सातै स्थानीय तहमा जिताउन सक्छौँ भन्ने जिल्लावासीहरुको मनोबललाई उच्च सम्मान गर्ने उनको भनाइ थियो ।
 
कार्यक्रममा केन्द्रीय सदस्य टेकप्रसाद गुरूङले गठबन्धन भए चितवनमा कांग्रेस तहसनहस हुने बताए । ‘कांग्रेसलाई बचाउन पनि चितवनमा गठबन्धन गर्न हुँदैन’, उनले भने, ‘चितवनका कांग्रेसलाई रुखमा भोट हाल्न दिनुपर्छ ।’
 
नवनिर्वाचित जिल्ला सभापति राजेश्वर खनालले एक्लै चुनाव लड्न सक्ने दरिलो र भरिलो कांग्रेस बनाउने प्रतिबद्धता जनाए । ‘एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउँछु’, उनले भने, ‘त्यसका लागि सबैको सहयोग मलाई चाहिन्छ ।’
 
कार्यक्रममा पूर्वक्षेत्रीय सभापतिहरु माधव अर्याल, बाबुराम पुरी, नन्दराम कँडेल, राजु सिलवाल, ज्ञानेन्द्र मल्ल र कुमार कार्कीलाई सम्मान गरिएको नगरसचिव अनिता अर्यालले जानकारी दिइन् ।
 
नगरसभापति प्रल्हाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, चितवन क्षेत्र नं १ का क्षेत्रीय सभापति किरणभूषण ओली, निर्वतमान नगरसभापति रुपनराज घिमिरे, महासमिति सदस्य शशि रानाभाट, रत्ननगर वडा नं १ का वडासभापति कुलप्रसाद सापकोटालगायतले मन्तव्य राखेका थिए ।
 
कार्यक्रममा नेकपा समाजवादीका युवा नेता प्रदीप खनालसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) परित्याग गरी ३०० बढी युवा कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीका महामन्त्री थापा र नेपाली कांग्रेसका नगरसभापति सापकोटाले टीका र खादा लगाएर पार्टी प्रवेश गराएका थिए । कांग्रेसले विगत वर्षमा झैँ वनभोज कार्यक्रम गर्दै आएको छ ।