किभ । रूसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि किभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी बिहीबार जनाएको छ ।
जेलेन्स्कीले टेलिभिजनको एउटा सम्बोधनमा युक्रेनले आफ्नो सुरक्षा गरिरहेको र आफ्नो भूगोलमा सैन्य आक्रमण गर्ने रूससँगको कूटनीतिक सम्बन्ध बिच्छेद गर्ने बताएका हुन् ।
यस आक्रमणमा ४० जनाभन्दा बढी युक्रेनी सैनिक र लगभग १० सर्वसाधारण मारिएको उनले पुष्टि गरेका छन् ।
यसअघि बिहीबार नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विशेष सैन्य अपरेसन’को अनुमति दिएका थिए । युक्रेनले देशभरका सैनिक प्रतिष्ठानहरु आक्रमणमा परेको पुष्टि गरेको छ ।
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेनविरुद्ध रुसले सैन्य कारबाही सुरु गरेपछि देशमा मार्सल लको घोषणा गरेका छन् । गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ ।
कीभमा बोरिस्पिल अन्तर्राष्ट्रिय विमानस्थल र सहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् । नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।
रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी
युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ ।
‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेसनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने । एजेन्सी
प्रतिक्रिया