मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


काठमाडौँ । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उनी ताना शर्माका नामबाट लोकप्रिय थिए । 
 
विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनले  ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेलेका छन् । डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए । उनलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो । 
 
उनी पाठ्यपुस्तक लेखक पनि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । शर्माको अन्त्येष्टि आज मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा गरिएको छ । 
 
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
 
राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार डा तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी छन् ।  
 
सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले भनेकी छन्, “प्रखर समालोचक एवम् नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ । आफ्ना दर्जनौँ कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुनेछ । दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
 
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वरिष्ठ साहित्यकार डा शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले दिवङ्गत साहित्यकार शर्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।