मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्रिप्टोकरेन्सीजस्ता अनलाइन कारोबार गरे सिआइबीले कडा कारबाही गर्ने

क्रिप्टोकरेन्सीजस्ता अनलाइन कारोबार गरे सिआइबीले कडा कारबाही गर्ने


काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङजस्ता व्यवसाय गैरकानुनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारबाही हुने चेतावनी दिएको छ ।  
 
व्युरोले आइतबार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले व्युरोबाट सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्तिउपर अनुसन्धान गरी कानुनी कारबाहीसमेत जारी रहेका सन्दर्भमा उक्त व्यवसाय सञ्चालन तथा कारोबार नगर्न नगराउन अनुरोध गरेको छ । 
 
नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपाल राष्ट्र बैंकमार्फत गएको माघ ९ गते क्रिप्टोकरेन्सीअन्तर्गतका अनलाइन कारोबार तथा डिजिटल नेटवर्किङ व्यापार गैरकानुनी रहेको स्पष्ट भइरहेको छ ।  
 
यस्ता गैरकानुनी कार्य भइरहेको कुनै सूचना प्राप्त भएमा सूचना उपलब्ध गराउनसमेत व्युरोले नागरिकमा अनुरोध गरेको छ । उक्त कसुरमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ बमोजिम बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना तथा तीन वर्ष कैद वा दुवै सजायको व्यवस्था रहेको सिआइबीका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।
 
बिगो कायम हुन नसकेका अवस्थामा कसुरको मात्रा हेरी बढीमा रु १० लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रासस