काठमाडौँ । नेपालमा मंगलबार पछिल्लो २४ घन्टामा थप एक हजार ९५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सोमबारको तुलनामा यो ३८७ जनाले बढी हो । सोमबार एक हजार ५७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घन्टामा १२ हजार ६९२ नमुनाको एन्टिजेन र पिसिआर विधिबाट परीक्षण गरिएको थियो । पिसिआर विधिबाट गरिएको आठ हजर ५८७ परीक्षणमा एक हजार १८४ र चार हजार १०५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७७३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा पाँच हजार १०३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख २० हजार ५९२ पुगेको छ । नेपालमा निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६८ हजार ६११ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३५ हजार ६०५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ९१ हजार ९५९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ९९ हजार ४८१ पुगेको छ । मुलुकमा कुल सङक्रमण दर १८ दशमलव तीन प्रतिशत रहेको छ ।
यस्तै, कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घन्टामा दुई लाख ७३ हजार ३४९ रहेको छ । मुलुकभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार १८१ रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ । कोरोना भाइरस सङ्क्रमणबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत रहेको छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८९ दशमलव सात रहेको मन्त्रालयले जनाएको छ ।
हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या ३८ र आइसियूमा २५६ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा ३४ हजार ९८३, संस्थागत आइसोलेसनमा एक हजार १९८ र क्वारेन्टिनमा १३३ जना रहेका छन् ।
हाल ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।
दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी पूर्व, स्याङजा, बाग्लुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ, र कञ्चनपुर छन् । हाल शून्य सङ्क्रमित रहेको एकमात्र जिल्ला मनाङ रहेको जनाइएको छ ।
उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा आठ हजार ९४२, ललितपुर पाँच हजार २८३ र भक्तपुरमा दुई हजार ६०४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया