मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्थानीय तहको निर्वाचन वैशाख ३० मा एकै चरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय

स्थानीय तहको निर्वाचन वैशाख ३० मा एकै चरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
 
तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्बन्धी कानुनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो । 
 
राजनीतिक दलबीच संविधान र कानुनका विषयमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाई र विश्लेषण भएका कारण निर्वाचनको मिति घोषणालाई चासोका साथ हेरिँदैआएको थियो । यसअघि आयोगले सरकारलाई जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न सुझाएको थियो । 
 
यसैबीच, निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्नरगराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।
 
आयोगले वर्षेभर निर्वाचनसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएकाले तयारी नै रहेको बताउँदै उनले कानुन अनुरूप निर्णय गरी मङ्गलबारदेखि नै मतदाता नामावली दर्ता कार्य स्थगित गरिने जानकारी दिए । 
 
आयोगले कुन दिन के गर्ने भनी निर्वाचन कार्यतालिका लागि गृहकार्यका अतिरिक्त निर्वाचनका लागि आवश्यक निर्देशिका र कार्यविधि तयार गर्नेछ । साथै निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट तर्जूमा गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्रचार गर्नेछ । 
 
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेको छ । यद्यपि साँझसम्म आयोगमा औपचारिकरूपमा जानकारी भने पुगि नसकेका बताइएको छ । 
 
केही दिनअघि मितिका सन्दर्भमा परामर्श दिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन तयारीका लागि प्रक्रिया अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।