मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुरक्षा सुशासन र विकासको पूर्वसर्त हो : प्रधानमन्त्री देउवा

सुरक्षा सुशासन र विकासको पूर्वसर्त हो : प्रधानमन्त्री देउवा


काठमाडौँ । प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक भएको छ । 
 
रक्षा मन्त्रालयमा भएको सो बैठकमा रक्षा मन्त्रालय, नेपाली सेना, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति लगायतका निकायबाट दोस्रो त्रैमासिक अवधिमा हासिल भएका प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो ।
 
समीक्षाको दोस्रो त्रैमासिक अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायबाट चालु खर्चतर्फ वित्तीय प्रगति ५३.२४ र पुँजीगत खर्चतर्फ वित्तीय प्रगति १३।९५ तथा भौतिक प्रगति १६ प्रतिशत हासिल भएको मन्त्रालयले जनाएको छ । बैठकमा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा देखिएका समस्या र चुनौती तथा समाधानका सम्भावित उपायबारे समेत गहन छलफल भएको थियो ।
 
सो अवसरमा प्रधानमन्त्री देउवाले महत्त्वपूर्ण कार्यक्षेत्र रहेको रक्षा मन्त्रालय,  मातहतको नेपाली सेना र अन्य निकायबाट चालु अर्थिक वर्षको हालसम्मको अवधिमा हासिल भएका मुख्य उपलब्धिको समीक्षाले आगामी दिनमा परिणाम हासिल हुने गरी आवश्यक निर्णय लिन सहज हुने बताए ।
 
सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएकाले भरपर्दो सुरक्षा प्रबन्ध नभई विकास निर्माणका कार्यलाई सहजरुपमा अघि बढाउन नसकिने बताउँदै उनले  नागरिकलाई भयरहित वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरे । 
 
राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिको  प्रभावकारी कार्यान्वयन गर्दै समग्र राष्ट्रिय सुरक्षा प्रणालीलाई बलियो बनाउन मन्त्रालय क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “मुलुकको आर्थिक विकासमा रणनीतिक महत्त्व राख्ने काठमाडौँ–तराई/मधेस द्रुतमार्गलगायतका राष्ट्रिय सडक कोरिडर निर्माण समयमै सम्पन्न हुनेछ ।” 
 
उनले राष्ट्रिय गौरव र महत्त्वपूर्ण सडक पूर्वाधार निर्माणका लागि आवयक पर्ने स्रोत साधन अभाव हुन नदिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेले विकास निर्माण तथा मन्त्रालयका अन्य कार्यक्रमको वित्तीय र भौतिक प्रगतिबीच सामाञ्जस्यता ल्याउन निर्देशन दिए । 
 
मुख्य सचिव शंकरदास वैरागीले सेनाले विश्व शान्ति  स्थापनाका लागि गरेको योगदानको प्रशंसा गरे । प्रधानसेनापति प्रभुराम शर्माले सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, द्रूतमार्गलगायतका आयोजना तोकिएको समयमै  सम्पन्न गर्न तयार रहेको प्रतिबद्धता जनाए । 
 
मन्त्रालयका सचिव किरणराज शर्माले मन्त्रालयका कार्यक्रम र आयोजना तोकिएको समयमा सम्पन्न गर्न आवश्यक समन्वय, सहयोग र सहजिकरण प्राप्त भएकाले निरन्तरताको खाँचो औँल्याए । 
 
बैठकमा अर्थ, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्रालयका सचिवले आ–आफनो क्षेत्रमा आवश्यक पर्ने सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिारी र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्षसमेतको सो अवसरमा सहभागिता थियो । रासस