मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार थपिए १२ हजार ३३८ सङ्क्रमित, चार जनाको मृत्यु

बिहीबार थपिए १२ हजार ३३८ सङ्क्रमित, चार जनाको मृत्यु


काठमाडौँ । नेपालमा बिहीबार थप १२ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उक्त सङ्ख्या बुधबारभन्दा ९८६ बढी हो । बुधबार देशभर ११ हजार ३५२ जनामा सङ्क्रमित पुष्टि भएको थियो । 
 
पछिल्लो २४ घन्टामा २७ हजार ४९७ जनाको कोरोना परीक्षण गरिएको थियो । २१ हजार सात जनाले पिसिआर तथा ६ हजार ४९० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 
सो अवधिमा ६४९ जना कोरोनाबाट निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १८ हजार ८०९ पुगेको छ । निको हुने दर ९२ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख ८७ हजार ७६९ जनामा तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख आठ हजार ११९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ७५ हजार २०५ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख सात हजार ८२३ पुगेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार २१४ रहेको छ । 
 
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६३२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । 
 
हाल भेन्टिलेटरमा २७ जना र आइसियूमा १८६ जना रहेका छन् । होम आइसोलेसनमा ५५ हजार ८३६, संस्थागत आइसोलेसनमा एक हजार ४९२ र क्वारेन्टिनमा १२५ जना छन् । 
 
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली छन् । 
 
दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सलार्ही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् । 
 
कोरोना सङ्क्रमण सबै जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा तीन हजार ७८३ सक्रिय सङ्क्रमित रहेका छन् । रासस