मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै ६३४३ नयाँ सङ्क्रमित

बुधबार ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै ६३४३ नयाँ सङ्क्रमित


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११ हजार ३५२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ सङ्क्रमितभन्दा एक हजार ९४ ले बढी हो । मङ्गलबार देशभरमा १० हजार २५८ नयाँ सङ्क्रमित पुष्टि भएको थियो । बुधबार कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । 
 
उपत्यकाका तीन जिल्लामा बुधबार छ हजार ३४३ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा चार हजार ६६६, ललितपुर एक हजार १९ र भक्तपुरमा ५७८ नयाँ  सङक्रमित थपिएकोे मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये नौ हजार ५०२ को पिसिआर र एक हजार ८५० को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । 
 
पछिल्लो २४ घन्टामा २३ हजार ४०९ को नमूना परीक्षण गरिएको थियो । १८ हजार ७८ जनाले पिसिआर र पाँच हजार ३३१ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औसत सङ्क्रमणदर ५२ दशमलव दुई प्रतिशत छ । हालसम्मको उच्च सङ्क्रमणदर भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।  
 
हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २८ र आइसियूमा १६९ जना रहेका छन् । होम आइसोलेसनमा ४६ हजार ५१५, संस्थागत आइसोलेसनमा एक हजार ४१४ गरी आइसोलेसनमा जम्मा ४७ हजार ९२९ रहेका छन् । संस्थागत क्वारेन्टिनमा १२६ रहेका छन् । 
 
कोभिड सङ्क्रमण दैनिक बढिरहेकाले सबै संघसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीको भनाइ छ । सभा, सम्मेलन र भेला सकेसम्म ‘भर्चुअल’ गर्ने र भौतिक उपस्थितिमै गर्नुपरेमा २५ जनासम्म मात्रैको उपस्थितिमा गर्नुपर्ने उनले बताए । 
 
कार्यक्रम गर्नुअघि सबैको परीक्षण गर्ने र खोप लगाएको सुनिश्चित गर्नुपर्ने उनले बताए । उनले भने, “सङ्क्रमण रोक्नका लागि सार्वजनिक यातायात, हवाई सेवा, होटल, रेस्टुरेन्टलगायतले मापदण्डको पालना गर्न खाँचो छ ।” रासस