मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर


दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जिप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । 
 
साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जिप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो । माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । ‘चाडपर्वका बेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो पालिका शोकमा डुबेको छ’, उनले भने ।
 
अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जिप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर खसेको थियो । जिपको स्टार्ट बन्द भएर पुनः स्टार्ट गर्न खोज्दा पछाडि हटेपछि जिप दुर्घटना भएको उनले बताए । ‘चालक सिकारु रहेको बुझिन आएको छ, चालक फरार छ’, उनले भने । 
 
दुर्घटनाको खबर पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अध्यक्ष थापाका अनुसार बन्दीपुर र आसपासबाट आठ वटा एम्बुलेन्स उद्धारका लागि पठाइएको थियो । घाइतेको उपचारका लागि बन्दीपुरमा रहेका सबै चिकित्सकलाई परिचालन गरिएको थियो । 
 
‘घाइतेको उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ, घाइते भएका आठ जनालाई थप उपचारका लागि राति नै भरतपुर अस्पताल पठाएका छौँ’, अध्यक्ष थापाले भने । 
 
बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरूङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताए । उनका अनुसार मृतकमध्ये एक दम्पती पनि छन् । एकैघरका आमा छोराको पनि दुर्घटनामा मृत्यु भएको छ । ‘चार जनाको शव घटनास्थलबाट निकालेका थियौँ, थप दुईको उपचारका क्रममा मृत्यु भयो’, उनले भने । 
 
प्रहरीका अनुसार दुर्घटनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरूङ, नौमहिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरूङ र ५० वर्षीया विममाया गुरूङको मृत्यु भएको छ । 
 
दुर्घटनामा २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरूङ, २२ वर्षीया कुमारी गुरूङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापा घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रासस