मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन

कोरोना भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिएका छन् । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् । उनले बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए ।  
 
यही पुस २२ गते ५४० मा पुष्टि भएको कोरोना भाइरस सङ्क्रमण शुक्रबार एकैदिन ९६८ जनामा पुष्टि भएको छ । भारतको पन्जाव, गुजरात, उत्तरप्रदेश, बिहारलगायत प्रदेशमा सङ्क्रमणको तेस्रो लहर फैलिसकेको छ । तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सङ्क्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन गरे । उनले सीमामा तेस्रो लहरको सङ्क्रमणको चुनौती रहेकाले सीमा नाकामा कोरोना भाइरसको परीक्षण दर बढाउन पनि निर्देशन दिए ।  
 
प्रधानमन्त्री देउवाले भारतसँग सीमा जोडिएका नाकामा होल्डिङ सेन्टर पनि चाँडै स्थापना गर्न निर्देशन दिए । “भारत सीमाबाट आएका सबै व्यक्तिलाई परीक्षण गर्नुपर्दछ”, उनले भने, “परीक्षण गर्दा सङ्क्रमण भेटिए आइसोलेशन र होल्डिङ सेन्टरमा राखेर उपचार गर्नुपर्दछ ।” उनले तेस्रो लहरको ओमिक्रोन भेरियन्ट छिटो फैलिने भएकाले खतरा रहेको र समयमै रोकथाम र नियन्त्रणका लागि आवश्यक काममा लाग्नुपर्नेमा जोड दिए ।  
 
प्रधानमन्त्री देउवाले बुस्टर डोज लगाएपछि तेस्रो लहरको खतरा कम हुने भएकाले सबैलाई बुस्टर डोज लगाउने गरी व्यवस्थापनसमेत गर्न निर्देशन दिए । उनले तेस्रो लहरको सम्भावित जोखिम हुन नदिनका लागि अस्पतालमा अक्सिजन र शैय्याको व्यवस्थापन गर्नुपर्ने बताए । 
 
नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएको भन्दै प्रधानमन्त्री देउवाले सबैको सहयोगले सम्भावित तेस्रो लहरलाई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे । “अक्सिजन नै नपाएर मानिस मर्नु हुन्न”, उनले भने, “त्यसैले सबै मिलेर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि  युद्धस्तरमा काम गर्नुपर्दछ ।”
 
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकामा चाँडै नै होल्डिङ सेन्टर निर्माण गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले सङ्क्रमितको पहिचान गरी आइसोलेसनमा राख्नुपर्ने बताए । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतको अनुभवलाई लिएर उच्च सतर्कता नअपनाए ठूलो सङ्कट व्यहोर्नु पर्ने भन्दै चाँडै नै सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको उच्च तयारीमा लाग्नुपर्ने भनाइ राखे । उनले खोप अभियानलाई तीव्रता दिनुपर्ने भन्दै खोप समयमा नै दिन नसके अकल्पनीय दुर्घटना व्यहोर्नुपर्नेतर्फ सचेत रहनुपर्ने बताए । 
 
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरियन्टको रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको बताए । उनले ओमिक्रोन भेरियन्टबाट ठूलै डर सिर्जना हुने नठानेर पहिलेको अनुभवबाट नै नियन्त्रण गर्न सकिने धारणा राखे । उनले अहिले तेस्रो लहरको हल्लासँगै खोप लगाउनेको सङ्ख्या पनि बढेको भन्दै खोप लगाउनका लागि अभियान नै सञ्चालन गर्ने बताए । 
 
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्था, पार्टी प्यालेस र भीडभाड हुने ठाउँमा सतर्कता अपनाउन आवश्यक रहेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थलको आगमन र प्रस्थान दुवै ठाउँमा पिसिआर परीक्षण गरेर मात्रा यात्रुलाई चढाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।  
 
अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीले होल्डिङ सेन्टर स्थापनाका लागि बजेट अभाव हुन नदिने बताए । उनले सबै नेपालीलाई खोपको लागि आर्थिक स्रोत सुनिश्चित भइसकेको जानकारी दिए । 
 
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले तेस्रो लहरको जोखिम बढेकाले भीडभाड हुने ठाउँमा सतर्कता अपनाउनुपर्ने बताए । उनले यही महिनाभित्र स्थानीय तहसँगको सहकार्यमा खोप अभियानलाई तीव्रता दिइँदै सबैलाई खोप लगाउने जानकारी दिए । 
 
उनले दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढिरहेकाले सीमा नाकामा परीक्षणको दायरा बढाइएको बताए । उनले सम्भावित तेस्रो लहरको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि पाँचौँ कोभिड–१९ स्वास्थ्य दु्रत कार्ययोजना बनाइरहेको जानकारी दिए ।  
 
नेपाली सेनाका उपरथी डा अरुण न्यौपाने र सेनानी राजीवमोहन झाले सम्भावित तेस्रो लहरको नियन्त्रण तथा रोकथाममा नेपाली सेनाले खेल्ने सक्ने भूमिकाबारे प्रस्तुति प्रस्तुत गरे । सेनानी झाले एक हजार क्षमताका नौ वटा होल्डिङ सेन्टर निर्माण भइरहेको बताए । 
 
उनले अहिलेसम्म ७८ प्रतिशत होल्डिङ सेन्टरको भौतिक प्रगति भइसकेको भन्दै बजेट अभावका कारणले होल्डिङ सेन्टर स्थापनामा ढिलाइ भएकोसमेत जानकारी गराए । रु दुई अर्ब २९ करोड होल्डिङ सेन्टरका लागि बजेट विनियोजन भए पनि हालसम्म एक अर्ब निकासा नभएको स्पष्ट पारे । रासस

शेयर गर्नुहोस:

648
Shares