नेपाल

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग


चितवन । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा आयोजित विश्व हिन्दू महासंघको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् ।
 
महासंघका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले हिन्दू राष्ट्रका लागि चितवनबाटै आन्दोलन सुरु गर्नुपर्ने बताए । “हरेराम हरेकृष्ण भजनबाट अब हाम्रो आन्दोलन अगाडि बढ्नुपर्छ” उनले भने, “यो आन्दोलन चितवनबाट सुरु गरेर मेची–महाकाली हल्लाउनुपर्छ ।” 
 
मुलुकलाई हिन्दू राज्य बनाउन अब सशक्त आन्दोलन गर्नुपर्ने भन्दै अध्यक्ष अधिकारीले सबै ओमकार परिवारलाई एक बनाएर धार्मिक एकता र पहिचानका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए । 
 
महासंघमा विवाद नभएको र केन्द्रीय समिति एउटै बनेको छ तर महासंघको अन्तर्राष्ट्रिय समितिमा देखिएको विवाद समाधानको बाटोमा अगाडि बढिसकेको बताए ।  
 
महासंघका महासचिव गणेशप्रसाद न्यौपानेले धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । “दलहरुको स्वार्थका लागि हिन्दू राज्यबाट नेपाललाई हटाइयो”, उनले भने, “हाम्रो एकता मजबुत छ, हाम्रो एकतालाई कसैले भाँड्न खोज्छ भने त्यो सह्य हुँदैन ।” वैदिक सनातन धर्मभित्र सबै धर्मलाई समान व्यवहार हुने भएकाले पनि नेपाल हिन्दू राज्य हुनुपर्नेमा महासचिव न्यौपानेले जोड दिए । 
 
महासंघका सचिव नेत्रनाथ पौडेलले सबै ओमकार परिवारका सदस्य मिलेर नेपाललाई हिन्दू राष्ट्र बनाउन पहल गर्नुपर्ने बताए । सबै ओमकार परिवारका सदस्यको पहलमा नेपाललाई हिन्दू राज्य बनाउन सकिने उनले बताए । रासस