विचार / ब्लग

धरतीमा प्रजातन्त्रको बीजारोपण गर्ने पहिलो राजा

प्रकाशित |
हाभारतको इतिहासमा हस्तिनापुरका पहिलो राजा भरत थिए । ब्रह्मऋषि विश्वामित्रको तपस्या भङ्ग गर्न देवराज इन्द्रले उर्वशी नाम गरेकी अप्सरालाई धरतीमा पठाएका थिए । दुवै मायाको बन्धनमा बाँधिए । फलतः ती दुवैबाट एक पुत्रीको जन्म भयो । छोरी जन्मेको दुई–तीन महिनापछि देवेन्द्रको आदेशानुसार उर्वशी स्वर्ग जानुपर्ने भयो । छोरीको जिम्मा ती दुईमध्ये कुनैले पनि नलिने भएर मूल बाटोमा बच्चालाई बेवारिसे ढङ्गले छोडी उनीहरु आ–आफ्ना बाटा लागेछन् । 
 
त्यसै समयमा पाण्डुऋषि र उनका चेलाहरु गङ्गा स्नान गरेर फर्किरहेका थिए, बाटोमा बच्चा रोएको आवाज सुनेर अलिक वर आउँदा रोइरहेको बच्चालाई देखे । परमात्माबाट उपहारका रुपमा यसरी छाडिएको सम्झी पाण्डुऋषिले बडो ममताका साथ काखमा राखी आफ्ना कुटीमा लिएर गए । सन्तानविहीन ऋषि दम्पतीले माया–ममताका साथ लालन–पालन गरी हुर्काए अनि नाम शकुन्तला राखे । शकुन्तला यौवन भैसकेपछि यिनको र राजा दुश्यान्तबीच माया–पिरती बस्यो । फलतः शकुन्तला गर्भवती बनिन् । त्यसपछि शकुन्तलालाई दुश्यान्तका दरबारमा लिएर जाने काम गरियो । तर, दैवसंयोग दुश्यान्तले शकुन्तलालाई स्वीकारेनन् । 
 
यस्तो अवस्था घटेपछि शकुन्तला अलाप–विलाप गर्दै एक्लै वनतिर गइन् । दुर्वासा ऋषिले शकुन्तलालाई आफ्ना कुटीमा राखे । शकुन्तलाबाट भरत नाम गरेको एक पुत्रको जन्म भयो । ऋषिले भरतलाई हरप्रकारको विद्यामा निपूर्ण बनाइदिए । त्यहाँ भरतसँग खेल्ने साथीहरु बाघ, भालु हुन्थे । भरत बढ्दै झण्डै १२–१३ वर्षको हुँदा राजा दुश्यान्त शकुन्तलालाई खोज्दै जङ्गलतिर गएका थिए, त्यसै समय जङ्गलमा भरतबाट दुश्यान्त बन्दी बनेका थिए । शकुन्तला त्यहाँ आएर देख–भेट भएपछि एकापसमा पहिचान भयो अनि भरत र शकुन्तला दुश्यान्तद्वारा राजदरबार आएका थिए ।
 
दुश्यान्तको शेषपछि भरत राजगद्धीमा बसे । यिनले शासन गर्ने राज्य अहिलेको भारतभन्दा धेरै ठूलो थियो । यिनी चक्रवर्ती राजा थिए । सच्चा प्रजावत्सल, न्यायप्रेमी, प्रजातान्त्रिक राजाको नाम लिन पर्दा यिनकै नाम पहिलो पंक्तिमा आउँछ । उनकै नामबाट अहिलेको भारत (भारत वर्ष) भनेर त्यतिबेला नामाकरण गरिएको थियो । त्यतिबेलाको भारत वर्षभित्र भुटान, बंगलादेश, पाकिस्तान, माल्दिप्स, नेपालजस्ता धेरै देशहरु पर्दथे । हिन्दु परम्परामा नियमित पितृकार्यका दिन संकल्प भन्दा खेरी (भारत वर्षे, नेपाल खण्डे) भनेर भन्ने गरिएको कारण पनि यही भएर हो ।
 
भरत अतिलोकप्रिय राजा थिए । यिनका राज्यमा कहीँकतै अन्न्याय, अत्याचार, छल–कपट, दुराचार आदि थिएन । सबै प्रजा सुख–शान्तिका साथ जीवन बिताइरहेका हुन्थे । राज्यको शासन व्यवस्था अतिचुस्त र दुरुस्त हुन्थ्यो । ढिलासुस्ती कतै पनि हुँदैनथ्यो । त्यस राज्यमा प्रजामात्र होइन, राजा पनि हरतरहले सुख र शान्तको अनुभव गरिरहन्थे । तर, एक कुरामा यी सधैँ चिन्तित देखिन्थे । त्यो के त भने तिनका पाँचभाइ छोराहरुको अशोभनीय आनी–बानी र बोली–व्यवहार । यिनका यी पाँच–पाँचभाइ छोराहरुमध्ये राज्यको युवराज हुने गुण एकजनामा पनि थिएन । सबै हाइलन्ठु थिए । चरम विलासिता, महŒवाकांक्षी, भड्कँदो र उद्दण्डितपना देखेर भरत राजा वाक्क–दिक्क थिए । राज्यमा युवराजको घोषणा गर्ने बेला नजिक आउँदै थियो । 
 
राजाले यसबारे धेरै जनासँग परामर्श लिने गर्थे । तर, चित्तबुझ्दो राय–सल्लाह कसैबाट पनि पाउन सकेका थिएनन् । यिनी चाहन्थे– मान्छेको चुनाव जन्मका आधारमा नभै योग्यता, गुण र कर्मका आधारमा हुनुपर्छ । एक दिन यसै विषयमा परामर्श लिन भनेर भरत राजा दुर्वासा ऋषिसमक्ष पुगे । त्यहाँ पुगेपछि ऋषिलाई प्रणाम गरेर आफू आउनुको तात्पर्य बताए । भरत राजाको यस्तो कुरा सुनेपछि ऋषिले उनलाई भने– ‘तिमीले आफूमाथि विजय पाउन सकेका छैनौ भने अरुमाथि विजय कसरी पाउन सकौला ?’ ऋषिको यो भनाइ ज्यादै गहकिलो थियो । सम्भवतः राजालाई आफ्नो अन्तहृदयको मनसायलाई ऋषिको भनाइले बल पु¥यायो होला । त्यहाँबाट भरत राजा सरासर राजदरबारमा आएर त्यसको भोलिपल्ट राजकुमारको घोषणा गर्ने उर्दी जारी गरे ।                                                                          
भरतको राजदरबारमा जेठा छोरालाई नै युवराज बनाइनेछ भन्ने सबैको अपेक्षा थियो । यिनको मन्त्रिमण्डलमा, राजपरिषद्मा पनि यस्तै–यस्तै तर्क–वितर्कहरु हुने गर्थे । आफ्ना छोरालाई हत्याएर अरु कसैलाई युवराज बनाऊलान् भन्ने कोही–कसैले पनि सोचेका थिएन । तर, राजाले युवराजको घोषणा गर्दा एक्कासि देवगुरु बृहस्पतिका पुत्र विरतलाई बनाएको घोषणाले दरबारभित्र एक किसिमको भूकम्प पैदा ग¥यो । यसबारे जताततै टीकाटिप्पणी हुन थाले । आफ्ना पाँच–पाँचभाइ छोराहरु हुँदाहुँदै पनि भरत युवराजका लागि देवलोक पुग्नुपर्ने कस्तो आश्चर्य भएको ? कहीँ–कतै यस्तो निर्णय अहिलेसम्मको इतिहासमा हुँदै नभएको काम यस भारत वर्षमा हुन गयो आदि आदि खालका बात–चितहरु यत्र–तत्र सुनिन थाले । देवलोक एवं अन्य लोकहरुमा भने धरतीमा पहिलो पटक यस्तो साहसी काम भयो भनेर प्रशंसै–प्रशंसा गरियो । 
 
भरत राजाको गुण–गान सर्वत्र सुनिन थाल्यो । मानव जातिको उत्पत्तिदेखि अहिलेसम्म कहीँ–कतै नभएको भारत वर्षमा भयो, जुन एक अद्वितीय र उदाहरणीय काम हो भनी तारिफ गरियो । भरत राजाको दरबारभित्र चर्काचर्की हुन थाल्यो । भरतका छोराहरु उग्र र उद्दण्डित हुन थाले । भरतकी आमा शकुन्तलाले पनि यो कामको असहमति जनाइन् । तर, भरतबाट यस कुराको जब पुष्ट्याईँ गरियो तब आमा त्यसपछि थन्किइन् । छोराहरु र राजपरिवारका अन्य सदस्यहरुबाट भने चर्को विरोध भैरह्यो तथापि भरत राजा आफ्नो निर्णय बदल्न मानेनन् । राजाले गरेको एक समयसापेक्ष उचित र प्रजातान्त्रिक कार्यलाई यदि अब यसभन्दा अरु बढी विरोध कहीँ–कतैबाट हुन गयो भने त्यस्तालाई राज्यले कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिइयो । समयको वेगसँगै स्थिति र वातावरण पनि शान्त हुँदै गयो । अबुझहरुले वास्तविकताको बोध क्रमशः पाउँदै गए । 
 
चारैतिरबाट भरत राजाको यस्तो आँटिलो, साहसी, दूरदर्शी एवं प्रजातान्त्रिक कामको तारिफै–तारिफ हुन थाल्यो । विरत युवराज हुनका लागि एक योग्य व्यक्ति पनि थिए । युवराजको पद सम्हालेपछि विरतले विभिन्न प्रकारका लोक–कल्याणकारी काम गरेर भरत राजालाई प्रभावित पारेका थिए । राज्यको कुशल शासन–व्यवस्थाबारे विरतले भरतबाट थुप्रै कुराहरु सिकिसकेका थिए । चक्रवर्ती राजा भरतको शेषपछि विरत भारत वर्षको राजसिंहासनमा बसे । यिनको १४ औँ पुस्तासम्मले विशाल राज्य भारत वर्षको शासन व्यवस्था राम्रोसँग सञ्चालन गरेका थिए । विरतको चौधौँ पिंढीपछि शान्तनुको उदय भएको हो भन्ने कुरा भारत वर्षको इतिहासबाट अवगत हुन्छ ।
 
आज यस धरतीमा भएका २५० भन्दा पनि बढी देशहरुमा आ–आफ्नो प्रकारको शासन–व्यवस्था कायम छ । प्रजातन्त्रको दुहाई गर्ने राष्ट्रहरु पनि कति छन् । प्रजातन्त्रको खोल ओडेर निरंकुश शासन व्यवस्था हाँक्ने देशहरु पनि यहीँ छन् । द्वापरयुगमा त्यतिबेलाको अवस्थामा आफ्ना पाँचभाइ छोराहरु हुँदा–हुँदै आफ्नालाई फालेर अन्यत्रबाट कसैलाई ल्याएर आफ्नो राज्यको युवराज बनाएर देशको भावी रुपरेखा कोर्ने आँट गर्न सक्नु चानचुन साहस पक्कै पनि थिएन होला । 
 
कुनै देशको राजकुमार हुन त्यस देशका राजाको जेठो छोरा भएरमात्र हुँदैन, राजकुमार हुनका लागि उपयुक्त योग्यता, गुण, असल स्वभाव पनि हुनुपर्छ भन्ने र सोहीअनुसार आफूले गरेर दुनियासामु देखाउने पहिलो राजा भरत थिए । राज्यको कुनै पनि पदमा पदासिन हुनका लागि जन्मबाट नभै कर्म, गुण, योग्यता, क्षमता, दक्षता आदिका आधारमा चुनाव हुनुपर्छ भन्ने कुराको सुत्रपात भरत राजाले नै सबैभन्दा पहिला गरेका थिए । यसै कारणले गर्दाखेरी यस धरतीमा प्रजातन्त्रको बीउ रोप्ने पहिलो राजा भरत हुन्, यसमा कसैको दुईमत छैन । 

चक्रपाणि शर्मा गौतम

चक्रपाणि शर्मा गौतम -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया