मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउन्डेसनले हात झिक्यो

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउन्डेसनले हात झिक्यो


चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउन्डेसनले हात झिकेको छ । फाउन्डेसनले रङ्गशाला निर्माणको कामबाट पछि हट्दै भरतपुर महानगरपालिकालाई स्वामित्व लिन आग्रह गरेको छ । 
 
आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउन्डेसनले संस्थागत निर्णय गरी कोभिड–१९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भएअनुसार स्वामित्व लिन अनुरोध गरेको छ । 
 
फाउन्डेसनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, “फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड–१९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रङ्गशाला निर्माण कार्य कठिनाई भएको छ ।” 
 
सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउन्डेसनले कोभिड– १९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताइन् । 
 
यसलगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताइन् । यस सम्बन्धमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग परामर्श गरी काम अघि बढाइएको दाहालले बताइन् । महानगरले फाउन्डेसनलाई काम अघि बढाउन वा सम्झौताअनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउन्डेसन पछि हटेको हो । 
 
उनका अनुसार फाउन्डेसनले महानगरमा पेश गरेको विवरण सरकारी तबरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाइँदै छ । बाँकी कामका लागि बहुवर्षीय योजनाअन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिइन् । उनले भनिन् “मन्त्रिपरिषद्ले जे निर्णय गर्छ सोहीअनुसार काम गर्न हामी तयार छौँ ।” भरतपुर महानगरपालिकाको महत्त्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागि परेको दाहालको भनाइ छ । 
 
महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वनविज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रङ्गशालाका लागि उपलब्ध गराएको हो । फाउन्डेसनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ । उनले थपिन्, “रङ्गशाला सम्पन्न हुन्छ ।” फाउन्डेसनले रु १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ । 
 
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले कार्यपालिकाको बैठकले निर्णय गरी फाउन्डेसनले पेश गरेको विवरणको आर्थिक र प्राविधिक पक्षको अध्ययनका लागि सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमा पठाएको छ । यसैगरी नेपाल चार्टर एकाउन्टेन्ट संस्थामा आर्थिक अध्ययनका लागि पठाइँदै छ । दुवै निकायबाट जाँचबुझपछि खेलकुद मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पठाउने तयारी गरिएको हो । सुवेदीले नेपाल सरकारको नीतिनियम अनुसार आवश्यक प्रक्रिया पु¥याएर रङ्गशाला निर्माणको कामलाई पूर्णता दिने बताए ।  
 
आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रङगशाला निर्माणको काम हुनसकेको छैन । उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक सङ्कलन हुन नसकेको  भन्दै काम रोकिएको हो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक सङ्कटबाट गुज्रिएपछि काम रोक्नुपरेको बताउँदै आएका थिए । उनले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक सङ्कट आएको बताए ।  
 
रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउन्डेसनले दाबी गरेको छ । रङ्गशालामा अहिलेसम्म रु ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको यसअघि नै फाउन्डेसनले दाबी गरेको थियो । रङ्गशाला सम्पन्न गर्न रु तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ । रङ्गशालाको विसं २०७५ माघ १६ गते काठमाडौँमा तत्कालीन प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई काम अघि बढाइएको थियो । रासस