मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारत पुगेको गैँडा उद्धार गरी ल्याइँदै

भारत पुगेको गैँडा उद्धार गरी ल्याइँदै


सरा । बाढीले बगाएर भारत पुगेको एउटा गैँडा नेपालतर्फ आएको मौका पारेर उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जतर्फ ल्याइँदैछ । भारतीय सीमा क्षेत्र विनय त्रिवेणी गाउँपालिका–६ बाट गैँडालाई डार्ट गरेर बेहोस बनाई सोमबार चितवनतर्फ ल्याउँदै गरिएको हो ।     
    
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार अन्दाजी सात/आठ वर्षको भाले गैँडालाई उद्धार गरी ल्याइएको हो । बाढीका कारण भारत पुगेको सो गैँडा मङ्सिर १५ गते नेपालतर्फ आएको थियो । नेपालमा उखु, तरकारीलगायत खाद्यान्न बाली खान पल्किएको गैँडा यसअघि तिहारको समयमा केही दिन सोही क्षेत्रमा देखिएको थियो । श्रेष्ठका अनुसार त्यतिबेला नियन्त्रणमा लिन खोज्दा भागेर भारततर्फ गएको थियो ।     
    
‘नेपालतर्फ आएको मौका पारेर गैँडालाई चितवन ल्याउन लागिएको हो’, श्रेष्ठले भने, ‘विसं २०७४ वा त्यसअघिका बाढीमा यो गैँडा बगेर भारत पुगेको हो ।’ श्रेष्ठकै नेतृत्वमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कर्मचारीसँगै सुरक्षाकर्मीले गैँडालाई उद्धार गरेका हुन् । सो क्रममा छ वटा हात्ती परिचालन गरिएको थियो ।     
    
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडालाई निकुञ्जको पूर्वी क्षेत्रमा छाडिँदैछ । गैँडाको संख्या कम भएको क्षेत्रमा छाड्न लागिएको हो । सुस्ताको उखुबारीमा गैँडा चरेको देखेपछि स्थानीयवासीले निकुञ्जलाई खबर गरेका थिए ।     
    
सन् २०१७ र २०१८ मा नेपालले भारतका विभिन्न ठाउँमा पुगेका १० वटा गैँडा फिर्ता गरेको थियो । भारत पुगेर आफैँ नेपालतर्फ फर्किएका तीन गैँडालाई पनि सीमा नजिकैबाट डार्ट गरेर चितवन राष्ट्रिय निकुञ्ज ल्याइएको थियो । रासस

शेयर गर्नुहोस:

189
Shares