मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट, अफ्रिकाबाट आएका दुई जनामा पुष्टि

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट, अफ्रिकाबाट आएका दुई जनामा पुष्टि


काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको हो । 
 
स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्क्रिनिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको हो । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय नेपाली नागरिकमा मंसिर १९ गते ओमिक्रोन भेरियन्ट देखिएको हो । 
 
यसअघि दुवै जनाले कोरोना भाइरसविरूद्धको खोपसमेत लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट देखिएको दक्षिण अफ्रिका हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरु नेपाल आउँदा नियमानुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा कोरोना खोपको डोज पूरा गरेको पाइएको मन्त्रालयले जनाएको छ । 
 
उनीहरुमा कोभिड १९ सँग मिल्दाजुल्दो लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन स्विकन्सिङ विधिबाट परीक्षण गरिएकोमा मंसिर १९ गते ओमिक्रोन भेरियन्ट नेपालमा पनि पहिलोपटक पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताए ।
 
सहप्रवक्ता अधिकारीका अनुसार विदेशबाट आएका दुई जनालाई शंका लागेर परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएकोमा मंसिर १९ गते राति ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो । अहिले दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुमा कुनै लक्षणहरु देखिएको छैन । उनीहरु दुवै जनालाई स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको छ । 
 
अहिले दुवै जना सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा रहेका छन् । उनीहरुको सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको सहप्रवक्ता अधिकारीको भनाइ छ । 
 
स्मरण रहोस् २०२१ नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस ओमिक्रोन पहिलोपटक पहिचान भएको थियो । यो भेरियन्ट अहिलेसम्म ३६ देशमा देखापरिसकेको छ । विश्व स्वास्थ्य संगठनले अहिले लगाइँदै आएको कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता ओमिक्रोनमा रहे नरहेको अध्ययन गरिसकेको छ । वैज्ञानिकअरुले यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका बारेमा पनि अध्ययन गरिरहेका छन् । 
 
विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन र स्वास्थ्य मापदण्ड कायमै राख्न आह्वान् गरेको छ । भारतमा २१ जनासहित दक्षिण एसियाका अन्य देशहरुमा पनि ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ ।  

Advertisement

शेयर गर्नुहोस:

27
Shares