मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रकृतिलाई बिगारेर होइन सिँगारेर विकास गरौँ : राष्ट्रपति भण्डारी

प्रकृतिलाई बिगारेर होइन सिँगारेर विकास गरौँ : राष्ट्रपति भण्डारी


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुलुकको विकास गर्नुपर्दछ भन्ने भावना नीतिनिर्माणका सबै तहमा गहिरोसम्म स्थापित गर्नुपर्नेमा जोड दिएकी छन् ।  
 
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय कार्यक्रममा उनले मानव र प्रकृति एकअर्कासँग जोडिएको उल्लेख गर्दै हाम्रो अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको हुन्छ भनिन् । 
 
उनले भनिन्, “यसलाई गहिरोसँग आत्मसात् गर्दै जलवायु परिर्वतनले ल्याउने चुनौतीको सामना गर्न समुदायस्तरदेखि नै गरिने प्रयासमा महासङ्घजस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहन्छ ।” 
 
राष्ट्रपति भण्डारीले वनजङ्गलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने कार्यभार र अर्कोतिर महिला हिंसा उन्मूलनलगायत विविध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकामा महासङ्घलाई धन्यवाद दिइन् । 
 
उनले वनको दिगो व्यवस्थापनका माध्यमबाट गरिने जनताको जीविकोपार्जनजस्ता कार्यले वातावरण र जैविक विविधताको संरक्षणका साथै जलवायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।  
 
महासङ्घले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा विभिन्न चेतनामूलक सामाजिक कार्यक्रम सञ्चालन गरेकामा खुशी व्यक्त गर्दै राष्ट्रपति भण्डारीले अभियानमा सक्रिय भई सभ्य समाज निर्माण गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना दिइन् । उनले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक सङ्घसंस्थालाई आह्वानसमेत गरिन् । 
 
समाजमा अझै पनि लैंगिक हिंसा विभिन्नरूपले अस्तित्वमा रहिरहनु चिन्ताको विषयभएको उल्लेख गर्दै उनले भनिन्, “एकातिर छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथा निर्मूल गर्न सङ्घर्ष गर्नुपरेको छ भने अर्कोतिर कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुर्व्यवहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणाका नयाँ रूप प्रकट भइरहेका छन् । यी विकृतिको अन्त्य गर्न नीति र कानूनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकातर्फ सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँदछु ।” 
 
राष्ट्रपति भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको उत्तिकै सक्रियता आवश्यक रहेकोमा जोड दिइन् ।  
 
कार्यक्रममा महासङ्घका अध्यक्ष भारती पाठकले लैङ्गिक हिंसा उन्मूलनका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकाय र सामाजिक संस्था जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताइन् । 
 
नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यञ्जुले महासङ्घले वन संरक्षणका साथै सामाजिक सशक्तिकरणमा पनि योगदान गरेकामा खुशी व्यक्त गरे । 
 
कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष घनश्याम पाण्डे, सचिव ठाकुर भण्डारीलगायतले महासङ्घले नाङ्गा डाँडालाई वनजङ्गल संरक्षणमार्फत हरियाली बनाउने काम मात्र नभई आर्थिक, सामाजिक तथा सचेतनामूलक कार्यसमेतमा  विभिन्न कार्य गर्दै आइरहेको जानकारी गराए । 
 
दुई दिनसम्म चल्ने गोष्ठीमा प्रदेश–२ का दलित समुदायको अगुवाको सहभागिता रहेको इनोभेटिभ रिसर्च एण्ड डेभलपमेन्टका विनोदकुमार विश्वकर्माले जानकारी दिए । रासस

शेयर गर्नुहोस:

189
Shares