मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

श्रीमद्भगवतगीता : मानव मोक्षको महान् ग्रन्थ

श्रीमद्भगवतगीता : मानव मोक्षको महान् ग्रन्थ


पूर्वीय दर्शनमा श्रीमद्भगवतगीताको स्थान अग्रपंक्तिमा छ । ब्रह्मा, विष्णु, महेश तथा अन्य तेत्तीसकोटी देवी–देवताहरुप्रति आस्था र विश्वास राख्नेको लागि मात्र नभएर सकल मानव जातिको मोक्षको मूलमार्ग साबित भैसकेको यस ग्रन्थलाई कुनै एक धर्म र सम्प्रदायको सम्पत्ति या विषय बस्तुमात्र नमानी सम्पूर्ण मानवको कल्याणका निम्ति हालको विश्वमा सबैभन्दा ठूलो शास्त्रको रुपमा चिनिइसकेको ग्रन्थ यही हो । यो ग्रन्थ संस्कृत, हिन्दी, नेपाली, उर्दू, अंग्रेजी आदि जस्ता १०० भन्दा पनि बढी भाषाहरुमा प्रकाशित एवं प्रसारित भैसकेको छ ।

 
श्रीमद्भगवतगीताको यस धरतीमा प्रादुर्भाव कहिले भयो होला भन्नेबारे कुनै तिथि–मितिको जानकारी अहिलेसम्म कहीँकतै भेटिँदैन । यति भने गर्वका साथ भन्न सकिन्छ कि यो शास्त्र स्वयं पद्मनाथ श्रीकृष्णको मुखारबिन्दुबाट निस्किएको अमर कीर्ति हो । द्वापरयुगको अन्त्य समयतिर साधुसन्तहरुको रक्षा गर्न, दुष्टहरुको सम्भार गर्न र यस धरतीमा धर्मको पुनस्र्थापना गर्न विष्णु भगवान्को श्रीकृष्णका रूपमा यसै पृथ्वीमा अवतरण भयो ।
 
त्यसै समयमा हस्तिनापुरको कुरुक्षेत्रमा कौरव र पाण्डवहरुबीच महाभारत युद्ध हुने निश्चित भयो । युद्ध मैदान कुरुक्षेत्रमा दुवै पक्षका योद्वाहरु आ–आफ्ना शस्त्र–अस्त्रका साथ तैनाथ भए । कौरवहरु अधर्म र पाण्डवहरु धर्मको पक्षमा थिए । प्रसिद्ध धनुर्धर अर्जुनको सारथि बनेर श्रीकृष्ण भगवान् धर्मको पक्षमा युद्धमा भाग लिनका निम्ति सरिक भए । त्यही समयमा युद्ध सुरू हुनुभन्दा पहिले श्रीकृष्णले अर्जुनलाई यसै श्रीमद्भगवतगीताको पहिलोचोटी आफ्नो मुखारबिन्दुबाट उपदेश सुनाएका थिए । भनिन्छ : श्रीमद्भगवतगीताको जन्म पनि श्रीकृष्णका मुखबाट त्यसैबेला भएको हो । महाभारत युद्ध १८ दिनसम्म चल्यो, जुन युद्धमा पाण्डवहरुले विजय प्राप्त गरेका थिए ।
 
यस गीतामा श्रीकृष्णले मुख्यतया तीन योगलाई अघि सारेका छन् (१) कर्मयोग (२) भक्तियोग या ध्यानयोग (३) ज्ञानयोग ।
 
(१) कर्मयोग :
 
सामान्य अर्थमा भन्नुपर्दा कुनै पनि काममा संलग्न हुनु कर्मयोग हो । तर, गीतामा यसको परिभाषा फरक ढङ्गले गरिएको छ । कुनै पनि प्रकारको स्वार्थ त्यागेर निष्काम भावले अरुको सेवामा समर्पित भई सन्सारकै कल्याण र भलाइका लागि काम गर्नु नै कर्मयोग हो । गीताको दोस्रो अध्यायको ४७ औँ श्लोकमा भनिएको छ–
 
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि ।।
 
भावार्थ : तिम्रो अधिकार कर्म गर्नमा छ । तर, कर्मको फलमा कहिल्यै अधिकार छैन । त्यसैले तिमी कर्मफल प्राप्तिको कारण नबन अर्थात कर्मफल प्राप्तिको कामनाले प्रेरित नहोऊ । त्यसैगरी कर्म नगर्न वा निषेधित कर्ममा पनि तिम्रो आशक्ति वा प्रीति नहोस् । जसरी गीताले सबैलाई आ–आफ्नो कर्तव्यकर्म गर्न पूर्ण अधिकार दिएको छ ।
 
त्यसैगरी पूर्ण स्वतन्त्रता पनि छ भनेर भनेको छ । कर्म नगरी कोही पनि निष्क्रिय रहनु हुँदैन । धन–दौलत, सुख–समृद्धि प्राप्तिको महŒवाकांक्षा बोकेर कसैले पनि कर्म गर्नु निजी स्वार्थपना मात्र हो । कर्म आफ्नो अधिनमा हुन्छ । तर, कर्मको फल हुँदैन । अतः निष्फल अर्थात अरुको भलोका लागि कर्म गर्नु आफ्नै मोक्षमार्गको निर्माण गर्नु हो ।
 
(२) भक्तियोग अर्थात ध्यानयोग :
 
पातञ्जल योगदर्शनका अनुसार मानवको मनस्पटलमा भैरहने चित्तवृत्तिका गतिविधिहरुको नियन्त्रण गर्नु नै योग हो भनेर बताइएको छ । गीताले अत्यन्तिक सुखको अनुभूति र दुःख संयोगको वियोग अर्थात दुःखको निवारणलाई नै योग भनेको छ । वास्तवमा सबै चित्तवृत्ति रोकेर प्रगाढ ध्यानयोगमा निमग्न योगीलाई न कुनै दुःखको अनुभूति हुन्छ, न त उसको अत्यन्तिक सुखजन्य परम आनन्दनाभूतिबाट विछोड नै हुन्छ । गीताको छैठौँ अध्यायको २२ औँ श्लोकमा भनिएको छ–
 
यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः ।
यस्मिन्स्थतो न दुःखेन गुरुणापि बिचाल्यते ।।
 
भावार्थ : पूर्वोक्त प्रकारको परमानन्द अवस्थामा रहेको योगी अत्यधिक सुख प्राप्त गरेपछि अर्को कुनै पनि लाभलाई त्यसभन्दा बढी लाभ हो भन्ने ठान्दैन र आत्म प्राप्ति रुप अवस्थामा स्थित भएपछि अत्यन्त कठोर दुःखले पनि उसलाई विचलित गराउन सक्दैन । यस किसिमको योगाभ्यास मनले आफ्ना सबै इन्द्रियहरु रोकेर समग्र कामनाहरुको परित्याग गरी आत्मामा नै मनलाई रोकेर बिस्तारै गर्नुपर्छ । ध्यानयोग भन्नु नै दुःखमा पनि संयोगबाट रहित हुन सक्नु हो । परमेश्वरप्रति अगाध श्रद्धा र आस्था राखेर गरिने समर्पणको भाव नै भक्तियोग हो । गीताको अठारौँ अध्यायको ६६ औँ श्लोकमा भनिएको छ–
 
सर्वधर्मान्परित्यज्य मामेकं शरणं ब्रज ।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ।।
 
भावार्थ : सबै धर्महरु परित्याग गरी समग्र कर्महरुप्रति सन्यास लिएर एउटै सर्वात्मा परमेश्वर म वासुदेवको शरणमा पर । म तिमीलाई सम्पूर्ण पापहरुबाट मुक्त गराउँछु । तिमी कत्ति पनि शोक नगर र दुःख पनि नमान । यही सहज कर्म पूरा गर्नका लागि नै श्रीकृष्णले पारिवारिक माया–मोहमा चुर्लुम्म डुबेका अर्जुनलाई युद्ध गर्न प्रेरणा दिएका छन् र अर्जुनले पनि श्रीकृष्णसँग मैले हजुरको आज्ञा पालना गर्नेछु भनेर आफ्नो कर्तव्यकर्ममा अभिप्रेरित भएका छन् ।
 
(३) ज्ञानयोग :
 
जानिनु अथवा बोध हुनुलाई ज्ञान भनिन्छ । ज्ञान दुई प्रकारका छन् : (क) भौतिक ज्ञान (ख) आध्यात्मिक ज्ञान (परमात्मासम्बन्धीको ज्ञान) । ज्ञानको बोध गराउने शास्त्रलाई विज्ञान भनिन्छ । गीताको सातौँ अध्यायमा ज्ञान र विज्ञानसम्बन्धी व्याख्या गरिएको छ । जसबाट अज्ञान, मोह तथा शोकादि अविद्याको नास हुन्छ कर्मबन्धनबाट छुटकारा मिल्छ त्यसैलाई ज्ञान भनिन्छ । अज्ञानताले गर्दा नै मानिस सांसारिक विषय–वासना र लालसामा फसेको हुन्छ । जब ज्ञान प्राप्ति हुन्छ अनि ती सबै प्रकारका भासरुपी दलदलबाट ऊ माथि उठ्छ । ज्ञानको उद्वोधन भएपछि आफ्ना इन्द्रियहरुलाई नियन्त्रण गर्ने क्षमताको विकास हुन्छ र मानिस दुर्बलता, अस्थिरता एवं चञ्चलता हटाउन सक्षम हुन्छ ।
 
ज्ञानबाट नै अभिमान, अहंकारजन्य क्रोध, द्वैषादि जस्ता दूरभावनाहरु पूर्णरुपले हट्दछन् र सबै प्रकारका इच्छा, आकांक्षा, कामनादिबाट मुक्त हुन सकिन्छ । शुद्ध मन, वचन र कर्मद्वारा खारिएको शुद्ध हृदयरुपी मस्तिष्कबाट नै ज्ञानको उदय हुन्छ । अज्ञानता हटिसकेको शुद्ध ज्ञानले नै हरेकको जीवनलाई पूर्णतातिर लैजान्छ । समग्रमा परब्रह्म तत्वको यथार्थ बोध हुनु या गराउनु ज्ञानयोगको परमलक्ष्य हो । तत्वज्ञानको खोजीमा संलग्न रही परब्रह्म परमेश्वरमा समर्पित हुनु ज्ञानयोगको मार्ग हो । गीताको तेह्रौँ अध्यायको दोस्रो श्लोकमा भनिएको छ–
 
क्षेत्रज्ञं चापि मां वृद्धि सर्वक्षेत्रेषु भारत ।
क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं यत्तज्ज्ञानं मतं मम ।।
 
भावार्थ : हे भरतवंशी अर्जुन ! सबै क्षेत्रमा म परमात्मालाई नै क्षेत्रज्ञ जीवात्मा पनि जान, क्षेत्र र क्षेत्रज्ञ अर्थात प्रकृति र पुरुषको जुन ज्ञान हो । त्यही नै ज्ञान हो भन्ने मेरो विचार छ । क्षेत्र भनेको २४ तत्वहरुबाट बनेको स्थुल शरीर हो । जो क्षणिक र नासवान छ । यसै शरीरलाई जान्ने क्षेत्र हो । क्षेत्रज्ञ भनेको उनै परब्रह्म परमेश्वर हुन जसको विषद वर्णन हाम्रा वेद, पुराण, उपनिषद आदिले गरेका छन् । गीतारुपी अमृतमय गंगाजलको पान गर्नाले यस धरतीमा फेरि जन्मनु–मर्नु पर्दैन । जन्म–मृत्युरुपी भवसागरबाट छुट्कारा पाएर अव्ययपद (मोक्ष) प्राप्त गर्न सकिन्छ । गीतामा भनिएको छ– मानिसको शरीर ब्रह्माण्डसरह हुन्छ जसमा पैतालादेखि नाभीसम्म भूलोक, नाभीदेखि कण्ठ (घाँटी) सम्म अन्तरिक्ष लोक, कण्ठदेखि टाउकोसम्म स्वर्गलोक र कपालका रौँहरुले अन्य विभिन्न लोकहरु जनाउँछन् । यसकारण मानिस मर्दा यदि उसको प्राणवायु शिरतिर हुँदै माथिल्लो भाग भएर गयो भने ऊ राम्रो लोकमा पुग्नका निम्ति योग्य ठहरिन्छ भनेर हाम्रा धार्मिक शास्त्रहरुमा बताइएको छ ।
 
श्रीमद्भगवतगीता १८ अध्यायहरु र ७०० श्लोकहरुले आवद्ध छ । अध्याय १ देखि ६ सम्म कर्मयोग (श्लोक संख्या २८०), अध्याय ७ देखि १२ सम्म ध्यानयोग अथवा भक्तियोग (श्लोक संख्या २०९), अध्याय १३ देखि १८ सम्म ज्ञानयोग (श्लोक संख्या २११) को विस्तृत वर्णन गरिएको छ । यद्यपि यस ग्रन्थलाई समग्ररूपले अध्ययन गर्दा सबै अध्यायहरुमा सबै प्रकारका योगहरुको समन्वयात्मक ढङ्गले बडो राम्रोसँग व्याख्यान गरिएको पाइन्छ । श्रीमद्भगवतगीतालाई समस्त वेदार्थ सारसङ्ग्रह अर्थात समस्त वेदार्थको सारसंक्षेप हो भनेर भनिएको छ । यसमा वेद, उपनिषद्, ब्रह्मसूत्र आदिमा पाइने सबै रहस्यहरु समाविष्ट छन् । यो समस्त आर्यसंस्कृति, आर्यसभ्यता तथा हाम्रा धार्मिक र आध्यात्मिक परम्पराकै सर्वस्व हो । त्यसकारण गीतालाई अद्वैतामृतवर्षिणी भगवतीम् अर्थात अद्वितीय ज्ञानको अमृत बर्साउने भगवत्स्वरुपा हो भनी प्रशंसा गरिएको छ । यस कीर्तिको बारेमा तल यसरी भनिएको छ–
 
गीता सुगीता कर्तव्या किमन्यैः शस्त्रबिस्तरे ।
या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिस्रिता ।।
 
भावार्थः गीता अध्ययनको लागि अति उपयोगी कीर्ति हो जो साक्षात् भगवान्का मुखारबिन्दबाट सहसा निस्किएको दिव्यवाणी हो । यो ग्रन्थ अध्ययन गर्नलाई कुनै पनि जात, धर्म, लिङ्ग, सम्प्रदाय, संस्कारमा आधारित वर्गलाई प्रतिबन्ध छैन । किनकी गीतामा नै श्रीकृष्णले वर्ण विभाजनलाई गुण र कर्मका आधारमा गरेको छु भनेर स्पष्टरूपले भन्नुभएको छ (चातुर्बर्णयं मया सृष्टं गुणकर्म–विभागशः ।) गीतारुपी गंगाजललाई रसपान गरेर कहिल्यै अघाइँदैन । यहाँ भनिएको छ–
 
गीता गङ्गोदकं पीत्वा पुनर्जन्म न विद्यते ।
 
भावार्थ : गीतालाई राम्रोसँग अध्ययन गरेर यसको वास्तविक मर्म बुझ्ने व्यक्ति एकपटक मरेपछि यस संसारमा फेरि फर्केर आउनु पर्दैन । साथ–साथै सांसारिक भवसागरबाट छुटकारा पाएर अव्ययपद प्राप्त गर्न सकिन्छ । अतः यस्तो ज्ञानगंगाको अक्षयस्रोत गीतालाई पढेर निष्फल कर्म गरी भगवत्भक्तिमा आफ्नो सर्वस्व समर्पण गर्न सकियो भने हामी सबै पक्कै पनि परमात्मा परमेश्वरमा लिन हुन सकिन्छ भन्ने कुरामा कसैको दुईमत नहोला । अस्तु !