मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अधिकांश न्यायाधीश इजलासमा फर्किए, सबैखाले मुद्दामा सुनुवाइ

अधिकांश न्यायाधीश इजलासमा फर्किए, सबैखाले मुद्दामा सुनुवाइ


काठमाडौँ । सर्वोच्च अदालतमा शुक्रबार अधिकांश न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणसहित सबैखाले मुद्दामा सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए ।  
 
दशवटा इजलासमा नौ वटा संयुक्त र एउटा एकल इजलास तोकिएको थियो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलास बसेको छैन । बाँकी सबै इजलासमा सुनुवाइ भएको छ ।
 
न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, न्यायाधीशहरु मीरा खड्का र सुष्मालता माथेमा, न्यायाधीशहरु हरिकृष्ण कार्की र हरिप्रसाद फुयाँल, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ र टङ्कबहादुर मोक्तान, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मी, न्यायाधीशहरू अनिलकुमार सिन्हा र सपना मल्ल, न्यायाधीशहरू बमकुमार श्रेष्ठ र डा मनोजकुमार शर्मा तथा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको इजलासमा सुनुवाइ भएको हो ।
 
प्रधानन्यायाधीश जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फुलकोर्ट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लागेका छन् । 
 
गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गरेका थिए । सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । 
 
अदालतमा मुद्दाको चापअनुसार नियमतिरूपमा बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका थिए तर शुक्रबारदेखि न्यायाधीश काममा फर्किएका छन् । रासस

शेयर गर्नुहोस:

243
Shares