काठमाडौँ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी कानुनका विषयमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसँग अन्तरक्रिया गरेको छ ।
पछिल्लो समय संघ, प्रदेश एवं स्थानीय सरकारले प्रेस स्वतन्त्रताविरोधी कानुन निर्माण गर्न थालेपछि त्यसप्रति असहमति राख्दै महासंघले विरोध गर्दै आएको हो ।
महासंघमा मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कानुन न्याय तथा संसदीय मामिलामन्त्री बडुले प्रेस स्वतन्त्रताबिना कुनै पनि संस्थाको स्थायित्व नहुने भन्दै त्यसतर्फ सरकार सचेत रहेको बताए ।
उनले मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी कानुनमा रहेको प्रेस स्वतन्त्रताविरोधी प्रावधान सरोकारवालासँग छलफल गर्ने र त्यसलाई प्रेसमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’बाट सम्मानित हुने पत्रकारलाई बधाइ व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विगतका सरकारसँग पनि नेपाल पत्रकार महासंघले प्रेसमैत्री कानुन निर्माण गर्न आग्रह गरेको भन्दै प्रेस विरोधी कानुनप्रति महासंघको सधैँ असहमति रहने बताए ।
उनले प्रजातान्त्रिक मूल्य र मान्यताका आधारमा कानुन निर्माण हुनुपर्ने भन्दै सरोकारवालासँगको छलफलबिना नै सरकारले कानुन निर्माण गरिरहेको बताए । ‘अघिल्लो सरकारले बनाएका कानुनका मस्यौदाहरुको अध्ययन गर्न उच्चस्तरीय आयोग बनाउन पत्रकार महासंघ माग गर्दछ’ पोख्रेलले भने ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले नेपालको ग्रामीण क्षेत्रमा रहेर जनतालाई सुसूचित गर्नेमध्ये एकजना पत्रकारलाई नेजाले नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको बताए । उनले भौतिकरुपमा आफूहरु अमेरिकामा भएता पनि नेपालको पत्रकारिताको विकासका लागि योगदान दिन इच्छुक रहेको बताए ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरोकारवालाको उपस्थितिबिना नै सरकारले प्रेससम्बन्धी कानुन बनाउन लागेको भन्दै त्यसो नगर्न सरकारलाई आग्रह गरे । उनले आमसञ्चारसम्बन्धी छाता कानुन निर्माण गर्न आवश्यक रहेको भन्दै सरोकारवालासँग छलफल गरी कानुन निर्माण गर्न सरकारलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचार लेखेकै आधारमा लाखौँ जरिवाना र वर्षौं जेल हाल्न सक्नेगरी कानुनहरु निर्माण भइरहेको भन्दै त्यस्ता प्रेस स्वतन्त्रताविरोधी कानुन सच्याउन सरकारलाई आग्रह गरे । उनले नेजासँग महासंघको सहकार्य सन् २०११ देखि नै रहेको भन्दै प्रशंसा गरे ।
सोही कार्यक्रममा ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकार अनु आचार्यले ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्न चुनौती रहेको भन्दै पुरस्कारले आगामी दिनमा पेसाप्रति क्रियाशील हुन हौसला प्रदान गरेको बताइन् । कार्यक्रमको सहजीकरण महासंघका महासचिव रोशन पुरीले गरेका थिए ।
‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’बाट सम्मानित पत्रकार आचार्यलाई नगद दुई लाख २२ हजार २२२ रुपैयाँ र प्रमाणपत्रबाट सम्मानित गरिएको छ ।













प्रतिक्रिया