काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिएका हुन् ।
“लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य मुलुकका नागरिक अलपत्र परेको खबर आइरहेको छ, उनीहरुको उद्धारमा पनि विशेष ध्यान दिनुहोला”, गृहमन्त्री खाँणले भने ।
वर्षाका कारण हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा घुम्न गएका पर्यटक अलपत्र भएका समाचार सार्वजनिक भएका छन् ।
तुम्लिङमा चार विदेशीसहित १२ जना अलपत्र
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन् ।
पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना रोकिएका हुन् ।
असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो ।
आइतबारबाट परेको बाक्लो हिमपातको कारण न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिनुपरेको रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाले बताए ।
न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । प्रजिअका अनुसार मौसम सफा नभएको कारण उद्धार हुन सकेको छैन । रासस







प्रतिक्रिया