मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँ उपत्यकामा २०७ जना पाकेटमार पक्राउ

काठमाडौँ उपत्यकामा २०७ जना पाकेटमार पक्राउ


काठमाडौँ । नेपाल प्रहरीले चोरी तथा पाकेटमार कार्यमा सङ्लग्न २०७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले चाडपर्वमा हुनसक्ने चोरी र पाकेटमारको विरुद्धमा चलाएको अभियानमा उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । 
 
परिसरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात, सपिङ मल र मुख्य बजारमा चलाएको अभियानमा चोरी र पाकेटमार कार्यमा सङ्लग्नलाई पक्राउ गरेको जानकारी दिएको हो । 
 
पत्रकार सम्मेलनमा परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटीरहित, भरपर्दौ, विश्वसनीय र मजबुद बनाउन साथै नजिकिँदो चाडपर्वमा हुने लुटपाट र चोरीका घटना कमी गर्न परिसरले भदौ २५ देखि असोज १५ गतेसम्म चलाएको अभियानमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । 
 
“यातायात व्यवसायीको सहकार्यमा सादा पोसाकका कर्मचारीलाई सवारी साधनमा यात्रा गराई चलाइएको अभियानमा पाकेटमारले नगद, मोबाइल, गरगहना चोर्दाचोर्दै पक्राउ गरेका हौँ”, उनले भने । सपिङ मल र भीडभाड बजारमा चोरी कार्यमा सङ्लग्नलाई पक्राउ गरिएको हो । 
 
सार्वजनिक बसमा दुई/दुई जनाका दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने र पैसा भएका यात्रु पत्ता लगाएर चार तीरबाट घेरा हालेर नगद, मोबाइल, गरगहना लुटपाट गर्ने गरेको अनुसन्धानमा पाइएको एसएसपी सिंहले बताए । 
 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पाकेटमारको निगरानी राख्नका लागि यातायात व्यवसायीले सादा पोशाकका कर्मचारीलाई ६० पास उपलब्ध गराएको जानकारी दिए । “चाडपर्वको बेलामा उपत्यकामात्र होइन देशभर नै चोरी र पाकेटमारी हुनसक्छ, यात्रुहरु सचेत बन्नुहोला”,  उनले भने । 
 
चोरी तथा पाकेटमारले सार्वजनिक सवारी साधनमा चढेपछि साङ्केतिक भाषाको प्रयोग गर्ने गरेको पाइएको छ । पक्राउ परेकामध्ये  २०७ जनामध्ये १६१ जनाको अनुसन्धान भइरहेको र ४६ जनाको अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय हुँदै कारागार पठाइएको परिसरले जनाएको छ । रासस

शेयर गर्नुहोस:

0
Shares