विचार / ब्लग

के कर्मको फल सबैले भोग्नै पर्छ ?

प्रकाशित |
र्मको फल कस्तो हुन्छ ? राम्रो या नराम्रो कस्तो ? यसलाई कसरी थाहा पाउन सकिन्छ ? यसको मुख्य कारण विधाता कि स्वयं ? जीवनमा सुखभोग गर्दा मानिसलाई कसैप्रतिको सोच र चिन्तन हुँदैन । तर, जबजब उसलाई दुःख भोग्नपर्ने अवस्था आउँछ अनि बल्ल उसले आफ्नो भाग्यलाई, विधातालाई दोष दिन थाल्छ । 
 
आफूलाई उसले सधैँ सुरक्षाको घेराभित्र राख्न चाहन्छ । आफूबाट जान–अन्जानमा भएका गल्तीहरु, कमजोरीहरु उसका निम्ति स्वीकार्य हुँदैनन् । ऊ ठान्छ– मैले सधैँ ठीक गर्छु, राम्रो गर्छु, गल्ती या खराब काम या अरुलाई प्रतिकुल प्रभाव पर्ने काम म कहिल्यै गर्दिनँ । विधिको विडम्बना यस्तै–यस्तै छ यस संसारमा । तथापि यस सम्बन्धमा यति भने भन्नै पर्दछ कि सद्कर्मको फल राम्रो हुन्छ । दुष्कर्मको फल नराम्रो हुन्छ । श्रीमद्भगवतगीताका अनुसार निष्कामभावले अरुको सेवामा समर्पित भएर गरिने कर्म नै सच्चा कर्म हो । यसबारेको एक धेरै पुरानो पौराणिक कथा यहाँ प्रस्तुत गर्न खोजिएको छ, जो यस प्रकारको छ ।
 
धेरै–धेरै समय पहिले कुनै एक देशमा एउटा सानो नगर थियो । त्यो नगर वरिपरिबाट पहाडै–पहाडले घेरिएको थियो । त्यहाँ खाली जमिन धेरै थियो । बस्ती कम थियो । त्यस नगरमा सिकन्दर नाम गरेका एक कलाकार रहन्थे । जसको हृ्रदयमा सधैँ सिर्जनात्मक सोच मात्र भैरहन्थ्यो । साथ–साथै आध्यात्मिक ज्ञानमा पनि गहिरो रुचि थियो । एक समय उनी घुम्दै–फिर्दै पहाडको काखमा पुगे । 
 
त्यहाँ गएर त्यस ठाउँमा भएका ढुङ्गाहरु देखेर यी तल झरेपछि तिनबाट सुन्दर मूर्ति बनाउने उनले कल्पना गरे अनि बनाए पनि । उनले बनाएका मूर्तिहरु ज्यादै राम्रा हुनाका कारण उनको यो काम बिस्तारै–बिस्तारै तल शहरसम्म फैलँदै गयो । सिकन्दर आफैँले बनाएका मूर्तिहरु शहरमा लगेर प्रदर्शन गर्न लागे । ती मूर्तिहरु हेर्नका लागि टाढा–टाढाबाट मानिसहरु त्यहाँ आउन थाले । मूर्ति हेर्न आउने धेरैजसो मानिसहरुले उनलाई पैसा पनि दिन थाले । यसरी धन जम्मा हुँदै गएपछि उनले शहरमा एक सुन्दर सङ्ग्रहालयको पनि निर्माण गरे ।
 
सिकन्दरको यसरी मूर्ति बनाउने, तिनलाई सजाएर राख्ने, तिनको ठाउँ–ठाउँमा लगेर प्रदर्शन गर्ने आदि काम त्यस शहरको कुना–काप्चासम्म पनि विस्तार हुँदै गयो । यस्ता यी स्थलहरु क्रमशः धार्मिक एवं आध्यात्मिक स्थलको रुपमा विकसित हुँदै जान थाले । यस कुराले चारैतिर चर्चा पाउन थाल्यो र झन अझै टाढा–टाढादेखि सिकन्दरले बनाएका मूर्तिहरु हेर्नका लागि मानिसहरुको ओइरो लाग्न थाल्यो । दर्शन गर्न आउनेहरुले त्यहाँ पैसा पनि चढाउन थाले । यसरी जति समय बित्दै गयो, त्यहाँ धन पनि त्यत्ति नै थुप्रिँदै गयो । 
 
सिकन्दर भयङ्कर धनाढ्य व्यक्ति बन्न पुगे । मूर्तिहरु र सङ्ग्र्रहालयप्रतिको लोकप्रियता बढ्दै गएका कारण त्यस नगरमा मानव बस्ती र अन्य व्यापार–व्यवसाय गर्ने मानिसहरुको संख्या पनि बढ्दै जान लाग्यो । कपडा पसलहरु, किराना पसलहरु, होटेलहरु, खाद्यान्न उत्पादनका क्षेत्रहरु आदिको त्यस नगरमा स्थापना हुँदै जान थाल्यो । यसरी त्यो नगर विश्वकै मान्छेहरु घुम्न आउने थलो बन्न गयो । तथापि सिकन्दर यति छोटो समयमा त्यति धनी बन्न गएको भए तापनि उसको धन लोक कल्याणकारी काममा भने कतै प्रयोग भएको देखिँदैनथ्यो । उसमा पहिले जति कला प्रेमिता थियो पछि गएर त्यत्ति नै सम्पत्तिमोह बढ्दै गयो ।
 
दुर्भाग्यवश एक पटक सिकन्दर बिरामी हुन गयो । उपचारका लागि उसलाई अस्पतालमा भर्ना गरियो । उसको स्वास्थ्य परीक्षण गरेपछि डाक्टरहरुले भने– सिकन्दरलाई ज्यानै लिने एक भयानक घातक रोग लागिसकेको रहेछ । ऊ अब धेरै दिनसम्म बाँच्ने अवस्था छैन । यो कुरा सुनेपछि सिकन्दरलाई भयानक चिन्ता हुन गयो । त्यसपछि ऊ एकान्तमा बसेर रोइरहने गर्न थाल्यो । अब उसले हमेसा भगवान्लाई पुकार गरेर भन्न लाग्यो– हे परमेश्वर ! मैले तिम्रो यति सेवा गरेँ, यति आराधना गरेँ तथापि म अब बढी बाँच्न नसक्ने भएँ । मैले गरेको राम्रो कामको बदलामा तिमीले मलाई यो सजाय दियौ । यो सरासर घोर अन्याय भयो । यस्तै–यस्तै चिन्तन गरिरहन्थ्यो उसले । 
 
एक पटक ऊ आफ्नो बिस्तारामा सुतिरहेको बेला सपनामा भगवान् आएर उसका सामुन्ने बोलेको देखेछ । भगवान्ले भनेछन्– हे सिकन्दर ! तिमीले सबैथोक ग¥यौ, राम्रो भयो । तर, एक समयमा तिमीले एक निर्दोष बालकलाई किन आफ्नो गुलामी बनायौ ? एक भोको वृद्धालाई खाना खान तिमीले किन दिएनौ ? तिमीसँग उसलाई दिने कुरा थिएन ? एक स्त्री र बालकलाई आफ्ना सङ्ग्राहलयका मूर्तिहरु हेर्नबाट किन वञ्चित गरायौ ? तिमीले सङ्ग्राहलयको ढोका बन्द गर्दिनाले उनीहरु बाहिर पानीमा रुझ्दै लामो समयसम्म रहन प¥यो । एक पटक तिमीसँग पाँच जना व्यक्तिहरु सहयोग माग्न भनेर आएका थिए । उनीहरुको उद्देश्य थियो– गरिबहरुका सन्तान पढ्ने विद्यालयको स्थापना गरिदिने । तिमीले उनीहरुलाई सहयोग माग्न सरकारसँग जाने हो भनेर भन्यौ । उनीहरु तिमी कहाँबाट खाली हात फर्के । के तिमीसँग उनीहरुलाई सहयोग दिने धन थिएन ? एक निर्धन नारीलाई दुई रोटी खान दिएर तिमीले आफ्नो काममा लदायौ । के यो सबै उचित कार्य थियो ? तिमीले धेरै मूर्तिहरु बनायौ तर तिम्रो त्यसबाट कमाएको धन र सीपले अरुको लागि कहाँ के दियो ? अतः आफूले गरेका कर्मको अन्तहृदयदेखि नै हेक्का राख्न सक्नुपर्छ । यति भनिसकेर भगवान् त्यहाँबाट अन्र्तध्यान भएछन् । त्यसपछि सिकन्दरको निद्रा खुल्न गएछ । 
 
आफूले गरेका यी दुष्कर्महरु भगवान्लाई कसरी थाहा भयो होला ? उसलाई यसबारे आश्चर्य लागेछ र थप चिन्ता लाग्न थालेछ । डाँडापारिको घाम जस्तै अब उसले के पो गर्न सकोस् । उसको मर्ने समय ज्यादै निकट थियो । पश्चाताप गर्नु सिवाय ऊसँग अरु बाँकी केही पनि रहेको थिएन ।
 
एक कृषकले धरतीमा बाली–नाली लगाउँदा जुन बाली जसरी लगाउँछ उसले त्यही बालीको मात्र त्यस्तै गरी उब्जनी लिन पाउँछ । अरु बालीको होइन । त्यस्तै गरेर जस्तो कर्म गरिन्छ । फल पनि त्यस्तै मिल्छ । यो साश्वत सत्य हो । आ–आफ्ना कर्मको फल देवता, मानव, दानव सबैले अनिवार्यरुपले भोग्नैपर्छ । चाहे त्यो जिउँदै होस्, चाहे मरेपछि, भनेर हाम्रा विभिन्न धार्मिक तथा पौराणिक ग्रन्थहरुमा सबुद प्रमाणसहित वर्णन गरिएको छ । अतः सद्कर्म गरौँ, फलको आशा नगरौँ । दुष्कर्म नगरौँ, कर्म गर्दा अरुको हितलाई सर्वोपरि ठानौँ यसैमा हामी सबैको कल्याण हुनेछ । अस्तु ! 
 
(न्यूपोर्ट न्यूज, भर्जिनिया, अमेरिका) 
 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया