मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

गणेश मार्मिकको खण्डकाव्य ‘आमा’ विमोचित

गणेश मार्मिकको खण्डकाव्य ‘आमा’ विमोचित


काठमाडौँ । साहित्यसुधा नेपालको आयोजनामा भर्चुअल माध्यमबाट साहित्यसुधा नेपालका उपाध्यक्ष साहित्यकार गणेश घिमिरे ‘मार्मिक’ को खण्डकाव्य ‘आमा’ विमोचित भएको छ । पुस्तकको विमोचन प्रमुख अतिथि रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत विशेष अतिथि समेतबाट भएको थियो ।
 
साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उद्घोषकको भूमिकामा संस्थाका सह–सचिव कृष्णदेव रिमाल रहेका थिए भने संस्थाकी संस्थापक तथा सल्लाहकार मनीषा प्रसाईंले अतिथिहरूलाई स्वागत गरेका थिए । 
 
कार्यक्रममा विशेष अतिथिका रूपमा आयोजक संस्थाका संरक्षक प्राज्ञ डा.देवी नेपाल, प्राज्ञ नर्मदेश्वरी सत्याल, आयोजक संस्थाका सल्लाहकार कवि कलानिधि दाहाल तथा साहित्यकार नगाधिराज रहेका थिए । 
 
विमोचित कृतिमा छन्द कवितालेखनका अभियन्ता प्राज्ञ डा.देवी नेपाल तथा प्राज्ञ नर्मदेश्वरी सत्यालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । 
 
टिप्पणीकार नेपालले आमा खण्डकाव्य कला, विचार, विश्लेषण र दर्शन सबै दृष्टिकोणले स्तरीय कृति भएको बताए । उनले यस कृतिले खण्डकाव्यको परम्परामा नयाँपन दिएको र यसले युगीन महत्त्व बोकेको चर्चा गरेका थिए । अर्की टिप्पणीकार सत्यालले सूक्ष्म कुरालाई टिपेर सुन्दर प्रस्तुति दिन मार्मिकजी खप्पीस गणेश मार्मिकको ‘आमा’ खण्डकाव्य आमावर्गप्रतिकै अगाध श्रध्दा अभिव्यक्त भएको कृति रहेको बताए । 
 
प्रमुख अतिथि उप्रेतीले कृतिकारलाई उत्कृष्ट सर्जकका रूपमा व्याख्या गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विशेष अतिथिहरूले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने सबै वक्ताहरूले स्रष्टा ‘मार्मिक’को सिर्जनाकला, सिर्जना चेत र कलात्मकताको खुलेरै प्रशंसा गरे । 
 
स्रष्टा मार्मिकले बोल्ने क्रममा आफू आलोचनाबाट लाभान्वित हुने बताउँदै अतिशय प्रशंसाले मानिसलाई बिगार्ने र अतिशय आलोचनाले हतोत्साहित बनाउने खतरा रहने हुँदा त्यस कुरातर्फ पनि स्रष्टाले सचेत रहनै पर्ने विचार राखे । कार्यक्रममा आरती बिष्ट, योगेन्द्र पौडेल, शिव त्रिपाठी र कल्पना दाहालले विमोचित कृतिभित्रका केही श्लोकहरू वाचन गरेका थिए । 
 
अन्त्यमा कार्यक्रमको अध्यक्षता गरिरहेकी कल्पना काफ्लेले सबैलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गरेका थिए ।