विचार / ब्लग

एकादशीका दिन भात खान नहुने किन ?

प्रकाशित |
हिन्दु परम्परामा व्रत, उपवास गर्ने चलन व्यापक छ । व्रत बस्ने काम दुई किसिमले गरिने गरेको हुन्छ । (१) नित्य, (२) काम्य । पुर्खा–पालादेखि बाबु–बाजेले गर्ने गरेका कारणले गर्दाखेरि व्रत यदि गरिन्छ भने त्यस्तो व्रतलाई नित्य अर्थात नियमित व्रत भनिन्छ । यस किसिमको व्रत परम्परालाई थाम्न गरिएको हुन्छ, कुनै फल पाउनका लागि गरिएको हुँदैन । यदि कुनै वस्तु पाउने अभिलाषा राखेर व्रत गरिन्छ भने यस्तो किसिमले गरिने व्रतलाई काम्य व्रत भनिन्छ । सन्तान प्राप्ति, राज्य प्राप्ति, धन–सम्पत्ति, वैभव, सुख–समृद्धि, आरोग्य–ऐश्वर्य, राज्य–विजय आदि प्राप्तिको कामना राखेर गरिने जुनसुकै किसिमका व्रतलाई काम्य व्रत भनेर भनिन्छ । 
 
हाम्रो समाजमा नित्य या नियमित व्रतभन्दा पनि धेरैले काम्य खालका व्रत, उपवास बढी गर्ने गर्दछन् । हप्ताका सातवटै बारहरु, औँशी, पूर्णिमा, एकादशी, संक्रान्ति, देवीहरु, देवताहरु, विभिन्न ग्रह–गोचर आदिका नाममा व्रत उपासना गर्ने गरिन्छ । यस्ता सबै व्रतहरुमध्ये एकादशीको व्रतलाई बढी लोकप्रिय मानिने गर्छ । हाम्रो समाजमा एक जनबोली छ– ‘तीर्थमा ठूलो काशी, व्रतमा ठूलो एकादशी ।’ देवताहरुमा सबैभन्दा ठूला र मुख्य विष्णु भगवान्लाई  मानिएको छ । एक महिनामा दुई वटा, एक वर्षमा २४ वटा र मलमास या अधिकमास परेको सालमा दुईवटा एकादशीहरु थपिन गएर एक वर्षमा जम्मा–जम्मी २६ वटा एकादशी हुन्छन् । यी सबै एकादशीहरु विष्णु भगवान्का लागि सर्वप्रिय हुन्छन् । प्रत्येक एकादशीका प्रकार र पौराणिक कथा भिन्दा–भिन्दै किसिमले जोडिएका भएता पनि यी सबैको मान्यता र महŒव समान हुन्छ ।
 
हरेक किसिमका व्रत, उपवास, एक निश्चित नियम र विधि–विधानअनुसार सम्पादन गरिनुपर्ने हुन्छ । व्रत गर्ने व्यक्ति व्रतको समयभरि थोरै बोल्ने, अरुको निन्दा नगर्ने र निन्दनीय कार्यहरुबाट आफूलाई टाढा राख्ने, अरुलाई प्रतिकूल असर पर्ने कुनै पनि प्रकारको बोली–वचन र कार्य नगर्ने, अरुसँग कुनै पनि प्रकारको सर–सापटी नगर्ने, पूर्णरुपले व्रह्मचर्यको पालना गर्नुपर्ने प्रावधान छ । व्यक्तिगत सर–सफाइ र शुद्धा–शुद्धिको हकमा नियमित स्नान, जप–ध्यान, पूजा–पाठ, शुद्ध–सफा र पवित्र वस्त्र धारण, घर वरिपरि, भित्र–बाहिर, पूजाकोठा र वातावरणीय सरसफाइ आदि सबै परिपूर्ण हुन नितान्त आवश्यक हुन्छ । खानपिनका हकमा दशमीका दिन सात्विक भोजन गर्ने, घाम अस्ताएपछि भोजन नगर्ने, राति भुईंमा सुत्ने, व्रतको समयभरि सहवास गर्न नहुने, एकादशीका दिन निराहार उपवास गर्ने, रात्रि भजन–कीर्तन सुनी जाग्राम गरेर द्वादशीका दिन बिहान विधिपूर्वक व्रतको पारण गर्नुपर्ने विधानमा उल्लेख छ । 
 
छोटकरीमा भन्नुपर्दा दशमीका दिन एकाहार, एकादशीका दिन निराहार, द्वादशीका दिन  एकाहार गर्नु पूर्ण फल प्राप्तिका निम्ति अत्यावश्यक मानिएको छ । यस समयमा व्रतालुले निराहार व्रत गर्न असम्भव भएको अवस्थामा चिया, दूध, फलफूल, पानी खान सकिन्छ । तर, यसो गर्दा आंशिक फल पाइने धार्मिक विधानमा उल्लेख छ । हामीले खाने नियमित दैनिक खाना दालभात, तरकारी, माछा–मासु, फलफूल,  दही, दूध आदिबाट भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट, विभिन्न खनिजहरु आदि पाइन्छन् जसले हाम्रो शारीरिक वृद्धि–विकासमा ठूलो भूमिका खेलिरहेका हुन्छन् । व्रत गर्ने व्यक्तिले यी चीजहरुमात्र नभएर अन्य पेय पदार्थहरु र लसुन, प्याज, साग–सब्जी आदि पनि खान नहुने प्रावधान छ । 
 
दूध, दही, फलफूललाई पनि व्रतालुले खान मिल्छ भनेर कतै उल्लेख भएको छैन । मात्र के भने यी चीजहरु अन्त्यावस्था पर्न गएमा मात्र खान सकिने भनिएको छ । चामलबाट बन्ने भातबाट कार्बोहाइड्रेट तत्व पाइन्छ, यसमा जलको मात्रा बढी हुन्छ जसबाट पाइने ऊर्जाले व्रतालुको मनस्पटलमा चञ्चलावट, खटपट,   चिन्तन, मनन, सम्यम आदिमा गडबड उत्पन्न हुनजान्छ । यस अवस्थामा व्रतालुको शारीरिक संयमी हुन अति आवश्यक हुने हुनाले संयमी भङ्ग हुने अर्थात उत्तेजना पैदा गर्ने खालका चीजहरु खान नहुने भनिएको हो । व्रतालुको पेट खाली हुन गयो भने उसको मनमा कुनै प्रकारको उत्तेजना, असंयमी, उत्पन्न हुन पाउँदैन । यो भौतिक एवं वैज्ञानिक पक्ष हो । एकादशीका दिन भात खान हुन्न भन्नेबारे एक पौराणिक कथन यस्तो छ -
 
धेरै वर्ष पहिले यस पृथ्वीमा एक यस्तो समय पनि भएछ । सबैले धार्मिक अनुष्ठान, व्रत, उपासना आदि मात्र गर्ने, पापजन्य र दुष्कर्म कतै पनि नहुने हुँदा पापपुरुषलाई यहाँ बस्ने, अडिने, ठाउँ कतै पनि मिलेन छ । उसले आफ्नो स्वामी कतै पाउन नसकेर अलाप–विलाप गर्दै ऊ एक्कासि वैकुण्ठमा विष्णु भगवान्समक्ष गई विन्ती गर्न लागेछ– हे प्रभु ! पृथ्वीमा जताततै पुण्यै–पुण्य हुन गएको हुनाले मैले आफू रहने स्थान कतै पनि भेटिनँ, कृपया प्रभु मलाई बस्ने ठाउँको प्रबन्ध मिलाइदिनु प¥यो । पापपुरुषको यस्तो अनुनय विनय सुनेपछि त्रिलोकपति विष्णु भगवान्ले भनेछन्– हे पापपुरुष ! तिमीलाई अन्यत्र बस्ने ठाउँ त कतै पनि बाँकी छैन । त्यसैले तिमी एकादशीका दिन अन्नमा एकमात्र ठाउँ खाली छ । त्यही खाली ठाउँमा तिमी गएर बस् । ज–जसले एकादशीको दिनमा भात (अन्नादि) खान्छन्, तिनै–तिनैका शरीरमा पनि तिम्रो बास हुन पाउने छ । त्यस पापपुरुषले भगवान्बाट त्यस्तो आदेश पाएपछि अति खुसी हुँदै प्रभुलाई प्रणाम गरेर यस पृथ्वीतलमा आएको थियो भन्ने कुरा हाम्रा विभिन्न पुराणहरुबाट अवगत हुन आउँछ ।
 
भात खाएपछि खाएको भातमा जति चामलका सिता हुन्छन्, त्यति नै कीरा हाम्रो पेटमा प्रवेश गर्छन् भनेर धार्मिक हिसाबले पुराणहरुमा बताइएको छ । सर्वसाधारण सबैले एकादशीका दिन भात नखान उत्तम मानिन्छ । कीराहरु अर्थात मांसजन्य वस्तु हाम्रो पेटभित्र पर्न गयो भने हामी पापका भागी हुन्छौँ । पुण्यदायी कर्म गर्दाको दिन जाना–जानी पाप कर्मको भागी बन्ने ? यसकारणले गर्दाखेरि एकादशी व्रतालुले उक्त दिन भात खान कसैगरी पनि हुँदैन । नुन खान पनि यस दिन बर्जित गरिएको छ । किन भने एकातिर धार्मिक हिसाबले यसलाई जुठो वस्तु मानिएको छ भने अर्कोतिर यसलाई उत्तेजक वस्तु पनि हो भनिन्छ । व्रतालुको व्रत बीचमा गएर भङ्ग नहोस्, काम्य फल मिलोस्, शारीरिक संयमी पनि नटुटोस् भन्नाका खातिर भात, नुन तथा अन्य यस्ता उत्तेजक वस्तुहरु खान नहुने भनेर बताइएको  हो । अतः एकादशी ब्रतालुले अति संयमी र अनुत्तेजित भएर व्रत गरौँ । काम्य फलबाट लाभान्वित होऔँ । सम्पूर्ण हिन्दु बन्धु–बान्धवहरुमा मेरो यही सादुभाव । अस्तु !  
 
(न्यूपोर्ट न्यूज, भर्जिनिया, अमेरिका)  
[chakrapani766@gmail.com]  

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया