मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

नेपाल सरकारलाई ५६० अक्सिजन सिलिन्डर हस्तान्तरण

नेपाल सरकारलाई ५६० अक्सिजन सिलिन्डर हस्तान्तरण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । 
 
मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूताबासको सहयोग तथा सहकार्यमा नेपाल ल्याइएका रु ७५ लाखभन्दा बढीको अक्सिजन सिलिन्डरर बिहीबार एक कार्यक्रमका बीच संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । 

 
ओमानदेखि काठमाडौँसम्म ल्याइएको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको हो । सिलिन्डर हस्तान्तरण  गर्दै अध्यक्ष पन्तले सबै प्रदेशमा वितरण गर्न अनुरोध गरे । नेपालका विभिन्न स्थानहरुमा वितरण गर्न दाताहरुको अनुरोधसहितको पत्रसमेत मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरिएको थियो ।
 
अध्यक्ष पन्तले मध्यपूर्वदेखि अक्सिजन सिलिन्टर नेपाल पुराउने अभियानमा विशेष पहलकदमी लिई हौसला बढाएर सहकार्य गर्ने ओमानका महामहिम राजदूत शर्मिला पराजुली ढकालसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानका सम्पूर्ण पदाधिकारीहरु, मध्यपूर्वमा रहेका संघका केन्द्रीय पदाधिकारीहरु, गैरआवासीय नेपाली संघअन्तर्गतका राष्ट्रिय समन्वय परिषद्हरु त्यहाँस्थित नेपाली संघसंस्थालगायत मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुप्रति आभार प्रकट गरे । 
 
अध्यक्ष पन्तले कोभिड–१९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीहरुले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाएको बताए । 
 
संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समितिलगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको जानकारीसमेत गराए ।
 
संघका संस्थापक अध्यक्ष डा महतोले आफ्नो मुलुकमा आपत् परेको बेलामा जहिले पनि गैरआवासीय नेपालीहरुले सहयोग गरेको र भविष्यमा पनि गरिरहने बताए ।
 
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले  संकटमा समयमा सहयोग गरेकोमा संघप्रति हार्दिक आभार प्रकट गरे । उक्त सिलिन्डर आवश्यकताअनुसार लुम्बिनी प्रदेशमा  २०० थान, सुदूरपश्चिम प्रदेशमा १०० थान, कर्णाली प्रदेशमा १०० थान, प्रदेश नं २ मा ८५ थान र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न मन्त्री त्रिपाठीले अनुरोध गरे । 
 
यस कार्यक्रममा मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोजकुमार श्रेष्ठ, मध्यपूर्वका क्षेत्रीय युवा संयोजक राजु रेग्मी, एनसिसी बहराइनका पूर्वअध्यक्ष श्याम तामाङ, एनआरएनए खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरीलगायत मध्यपूर्व क्षेत्रका दाता तथा सहयोगीहरुका साथै संचारकर्मीहरुको सहभागिता रहेको थियो ।