मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाली क्रिकेट राष्ट्रिय टोलीको घोषणा

नेपाली क्रिकेट राष्ट्रिय टोलीको घोषणा


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । 
 
छनोट टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् । 
 
नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । 
 
नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड भोलिदेखि
 
कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा तेक्वान्दो र एथलेटिक्समा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिए । 
 
तेक्वान्दो भोलि बिहीबार डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को हलमा खेलाइने छ । छात्र÷छात्रामा तीन÷तीन गरी छ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । छात्रमा ४५ केजी, ४८ केजी र ५१ केजी तौल समूहमा खेल हुनेछ । त्यस्तै छात्रामा ४२ केजी, ४४ केजी र ४६ केजीमा भिडन्त हुनेछ । विभिन्न २० विद्यालयका १२० खेलाडीको सहभागिता रहने छ ।
 
त्यसैगरी एथलेटिक्स शुक्रबार मूलपानीमा हुनेछ । छात्र÷छात्रा गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । छात्र÷छात्रा दुवैमा एक सय, दुई सय, चार सय, आठ सय र एक हजार पाँच सय मिटर दौड तथा चार गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ । उक्त स्पर्धामा विभिन्न २० विद्यालयका १५० खेलाडीको सहभागिता रहने छ ।
 
तेक्वान्दो र एथलेटिक्सको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु दुई हजार, रु एक हजार र रु ५०० पुरस्कार प्राप्त गर्नेछन् । सो प्रतियोगिता काठमाडौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोटका रुपमा समेत रहेको छ । स्पर्धामा शीर्ष स्थान हात पार्ने खेलाडी जिल्लास्तरीय प्रतियोगितालाई छनोट हुनेछन् । रासस