मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

उन्नति कल्चरल भिलेजमा घुम्ती साहित्य महोत्सव

उन्नति कल्चरल भिलेजमा घुम्ती साहित्य महोत्सव


गैँडाकोट । फाइनप्रिन्टले लेखक, कलाकार तथा राजनीतिज्ञको अनुभव साट्ने उद्देश्यका साथ गैँडाकोटको हर्कपुरमा दुई दिने ‘फाइन्ट प्रिन्ट फिभर’ (घुम्ती साहित्य महोत्सव) आयोजना गरेको छ ।
 
चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा आयोजना गरिएको दुई दिने फिभरको पहिलो दिन नेपाली चलचित्रका महानायक राजेश हमालदेखि उद्योगपति एवम् सांसद् विनोद चौधरी, लेखक अमर न्यौपाने, कवि असीम सागरलगायतले आफ्ना अनुभव साट्ने मौका पाए ।
 
पुस्तक पढ्ने ‘सेलिब्रेटी’को पहिचान बनाएका महानायक हमालले पुस्तक पढ्दा हुने फाइदा र आफ्ना अनुभवबारे करिब आधा घन्टा बोले । मान्छेको सोच र समाज बदल्न पुस्तकले ठूलो भूमिका खेल्ने उनले बताए । त्यसैले सबैलाई फुर्सद मिलाएर पुस्तक पढ्न उनले सुझाव दिए ।
 
त्यसपछि ‘अर्थनीति र राजनीति’ विषयमा उद्योगपति एवम् सांसद् विनोद चौधरीसँग नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहानले करिब पौने एक घन्टा गफ गरे । सुरूमा नेपाली कला र संस्कृतिको पहिचान दिलाउने उद्देश्यले उन्नति कल्चरल भिलेज सञ्चालन गरेको जानकारी गराउँदै आफ्ना व्यावसायिक तथा राजनैतिक विषयमा कुराकानी गरे ।
 
तेस्रो चरणमा लेखक अमर न्यौपानेले मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ प्रकाशनपछिको दसवर्षे अनुभव सुनाए । उक्त पुस्तकको रचनागर्भबारे पनि बेलिबिस्तार लगाउन भ्याए । उक्त उपन्यासमा भएको एउटा पात्र सरस्वती आमाको आशीर्वादकै कारण पुस्तकले मदन पुरस्कार पाउन सफल भएको उनले बताए । सोही अवसरमा न्यौपानेले आफ्ना मातापिताको हातबाट शुक्रबार सेतो धरतीको विशेष संस्करणसमेत विमोचन गरेका छन् ।
 
न्यौपानेको अनुभव सुनिसकेपछि कवि असीम सागरले आफ्नो भोगाईसँगै साहित्यिक यात्राबारे अनुभव सुनाउँदै चारवटा कवित सुनाउने मौकाको पनि सदुपयोग गरे । प्रायः भुईँमान्छेलाई हेरेर कविता लेख्ने कवि नै भुईँमान्छे परेकोले आफ्नो अनुभव अन्य लेखक तथा कविको भन्दा फरक रहेको उनले सुनाए । साँझ भने अनिल शाही र उनको समूहले सांगीतिक प्रस्तुति दिए ।
 
फाइनप्रिन्टले सन् २०११ देखि घुम्ती महोत्सव गर्दै आएको छ । सोही अवसरमा गैँडाकोटमा जारी दुईदिने महोत्सवमा २०७७ सालमा फाइनप्रिन्टले प्रकाशन गरेका कृतिका प्रायः लेखकको उपस्थिति रहने फाइनप्रिन्टका सञ्चालक अजित बरालले जानकारी दिए ।