मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एक प्रतिशत जनसंख्यामा कोरोना सङ्क्रमण पुग्दा विश्व नै अस्तव्यस्त

एक प्रतिशत जनसंख्यामा कोरोना सङ्क्रमण पुग्दा विश्व नै अस्तव्यस्त


काठमाडौँ । गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वको जनसंख्याको एक प्रतिशतसम्म पुगेको छ । यो भाइरसले विश्वका एक प्रतिशत मात्र नागरिकलाई सङ्क्रमित बनाएसँगै विश्व भने अस्तव्यस्त बन्न पुगेको छ ।   
  
विश्व यतिखेर स्वास्थ्य चुनौतीको सामना गरिरहेको छ भने यो सङ्क्रमणले वर्षदिनको फन्को लगाइसक्दा पनि यसको औषधिउपचारको सहज उपलब्धता हुन नसक्नु विश्व समुदायका लागि अर्को चुनौती समेत बनेको देखिएको छ ।
 
विश्वको जनसंख्या सात अर्ब ८२ करोड रहेको छ । हाल विश्वभरका ८ करोड ११ लाख भन्दाबढी व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । यो संख्या विश्वको जनसंख्याको एक प्रतिशत हो । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिका हो । अमेरिकाको जनसंख्या ३३ करोड रहेको छ ।   
  
हाल अमेरिकामा १ करोड ९५ लाख भन्दा बढी व्यक्तिलाई कोरोना भाइरस भएको पुष्टि भएको छ ।अमेरिकी जनसंख्याको करिब ६ प्रतिशत भन्दा बढीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । विश्वको जनसंख्याको हिसाबबाट दोस्रो स्थानमा रहेको भारतको जनसंख्या करिब १ अर्ब ३९ करोड रहेको र हाल भारतमा १ करोड दुई लाख ७ हजार भन्दा बढीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । भारतको जनसंख्याको हिसाबबाट ०।८ प्रतिशतलाई सङ्क्रमण भएको छ ।
  
विश्वमा यस्ता महामारीजन्य रोगहरु यसअघि पनि नआएको भने होइन । सन् १९१८ मा शुरु भएको इन्फ्लुएन्जा माहामारी हालसम्मको इतिहासको गम्भीर माहामारीको रुपमा रहेको थियो । यो माहामारी ‘एच १ एन १’ भाइरस् नाम दिइएको इन्फ्लुएन्जा फ्लुबाट  ५० करोड व्यक्ति सङ्क्रमित भएका थिए भने यस रोगको सङ्क्रमणको कारण ५ करोड व्यक्तिको मृत्यु भएको थियो । सो सङ्क्रमित संख्या उक्त समयको विश्वको जनसंख्याको एक तिहाई थियो । यस फ्लुले अमेरिकामा मात्र ६ लाख ७५ हजार भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । सन् १९१८ मा शुरु भएको यो प्रकोप सन् १९२० मा मात्र अन्त्य भएको थियो । यो भाइरसको उत्पत्ति कहाँ भएको हो भने प्रष्ट हुन सकेन । सन् १९१८ को बसन्त ऋतुमा पहिलो पटक एक अमेरिकी सैनिकमा उक्त भाइरस फेला परेको थियो  ।  
  
यस्तै सन् २००९ मा स्वाइन फ्लु नामक माहामारी शुरु भएको थियो । स्वाइन फ्लु सन् २००९ जनवरीबाट शुरु भई सन् २०१० को अगस्तमा अन्त्य भएको थियो । यस फ्लुको शुरुवात उत्तरी अमेरिकी देश मेक्सिको र भेराक्रुज भएको थियो । यस फ्लुबाट ४ लाख ९१ हजार सङ्क्रमण पुष्टि भएको थियो भने २ लाख ८४ हजारको मृत्यु भएको थियो । सन् १६६५ मा द ग्रेट प्लेग माहामारी शुरु भएको यो सन् १६६५ बाट १६६६ सम्म माहामारीको रुपमा रहेको थियो यसको शुरुवात संयुक्त अधिराज्य लण्डनबाट शुरु भएको थियो । यस प्रकोपबाट ७५ हजार व्यक्तिको मृत्यु भएको थियो ।
  
त्यसैगरी पश्चिम अफ्रिकी देशहरुमा भने अर्को एक खतरनाक भाइरस इबोलाको महामारी शुरु भएको थियो । यस भाइरसको शुरुवात सन् २०१३ को डिसेम्बर २६ बाट भएको थियो । यो माहामारी सन् २०१६ को जनवरी ९ सम्म रहयो । यस प्रकोपबाट ११ हजार ३२३ व्यक्तिको मृत्यु भएको थियो ।
  
एक वर्षदेखि जारी यस कोरोनाको कारण विश्वको हरेक देशमा मनाइने ठूला पर्वहरु पनि रोकिएको छ । विश्वमा करिब २ अर्व जनताले मनाउने गरेको क्रिसमसकोे विदा युरोपमा मनाउन पाएनन् । कोरोना भाइरसको प्रतिबन्धका कारण उनीहरुमा यस्तो समस्या आएको हो । युरोपमा क्रिसमस र आगामी केही दिनमा शुरु हुने नयाँ वर्षको अवसरमा पनि विदा दिइएको छ ।   
  
विश्वको १६० भन्दा बढी देशले मनाउने यस पर्वमा नागरिकहरु विदाका साथै क्रिसमसको अवसरमा समेत घरबाट बाहिर निस्किन पाएका छैनन् । धेरै नागरिकलाई एकै पटक एक स्थानमा जम्मा हुन दिइएको छैन भने कतिपय स्थानमा त घरबाहिर जान पनि नपाइने गरी कडा खालका प्रतिबन्धहरु लगाइएको छ । होटल रेष्टुरेन्टहरु साँझको छ बजे नै बन्द गर्न भनिएको छ भने होटल तथा पार्टी गर्ने स्थानहरुमा यस्ता समारोहको आयोजना गर्न पनि दिइएको छैन ।
  
युरोपका बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा भाइरसको दोस्रो लहर आएको छ । यसले गर्दा क्रिसमसको समयमा यसअघि कहिल्यै पनि नभोगेको समस्यामा युरोपका प्राय देशका नागरिक परेको देखिएको थियो । बेलायतमा त कोरोना भाइरस जिवाणुको नयाँ स्वरुपको प्रकोप नै भेटिएको भन्दै यहाँका कतिपय स्थानमा कडा खालका प्रतिबन्धहरु लगाइएको छ ।   
  
यहाँ नागरिकलाई रमाइलो जमघट परी जाओस घरबाट बाहिर पनि निस्किन दिइएको छैन । बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएपछि युरोपका नागरिकले क्रिसमसको अवसरमा कुनै पनि समारोह गर्ने र आनन्द लिने काम गर्न पाएका छैनन् ।
  
युरोपका कतिपय देशहरुमा यो भाइरसको दोस्रो लहर आएको बताइएको छ । बेलायतमा केही हप्ता यतादेखि कडा खालका प्रतिबन्धहरु लगाएको थियो र यसपछि पछिल्ला केही दिनहरु यतादेखि पनि यहाँ झनै कडा भाइरस आएको भन्दै थप प्रतिबन्धहरु लगाइएको थियो । बेलायत र अरु पनि कैयौँ देशमा क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाइएको छ । जर्मनी, बेलायत र फ्रान्सकै पनि कतिपय स्थानका मानिसलाई घरबाट निस्किन समेत नपाउने गरी प्रतिबन्धहरु लगाइएको छ ।   
  
युरोपका देशहरुले कोरोना भाइरसको प्रकोपको थप समस्याको आंकलन गरेर क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न भनी कडा खालका नियमहरु बनाएका छन् ।    
 
यहाँ बसोबास गर्ने कतिपय स्थानका नागरिक त घरबाट निस्किनसमेत नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नयाँ प्रतिबन्ध लगाइएका स्थानमा पूर्वीबेलायतका विभिन्न सात स्थान रहेका स्वास्थ्यमन्त्री म्याटले जानकारी दिनुभएको हो । ती स्थानमा पछिल्लो पटक नयाँ खालका कोरोना भाइरसका दुई जना बिरामी भेटिएपछि यस्तो प्रतिबन्ध लगाउनुपरेको उहाँले बताउनुभएको थियो ।   
  
यसैबीच, बेलायतमा यो पछिल्लो अवस्थापछि बेलायतबाट आउने तथा बेलायत जाने हवाई उडानमाथि नै प्रतिबन्ध लगाएको बताएका छन् । बेलायतबाट हुने उडानमा विश्वका ४० भन्दा बढी देशले प्रतिबन्ध लगाएका छन् । डच सरकारले यस्तै खालको प्रतिबन्ध लगाइएको थियो । बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो ।    
 
बेलायतल सरकारमात्र होइन क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भीडभाड हुनसक्ने सम्भावना रहेका स्थानहरुमा अरु युरोपेली देशहरुले पनि आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न कडा रुपमा आदेश नै जारी गरेक भनेका थिए ।    
  
बेलायतबाट हुनसक्ने कोरोनाको सङ्क्रमणलाई जति सक्दो कम गर्न तथा फैलिन नदिन बेलायत जान र त्यहाँबाट आउने नागरिकलाई रोक्नका लागि यतिखेर विश्वका कैयौँ देशले यात्रामा प्रतिबन्ध लगाएको बताएका छन् । यसरी बेलायत दोस्रो लहरको प्रभावपछि पनि थप समस्यामा परेको पाइएको छ । गत वर्षको डिसेम्बरबाट शुरु भएको पुरानै कोरोना भाइरसबाट पनि शुरुमा प्रभावित भएको बेलायतले यसको नियन्त्रण राम्रोसँग गर्न सफल भएको थियो ।
 
अघिल्लो महिनादेखि पुनःयसैको दोस्रो लहर आयो र यहाँको जनजीवनलाई थप प्रभावित बनायो । त्यसपछि पनि केही नयाँ प्रतिबन्ध बेलायतले घोषणा गरेका थिए । त्यसैमाथि अहिले फेरि झन् कडा खालको र मृत्युको दर पनि बढी भएको यो नयाँ भाइरस देखिएको भन्दै यसले बृटिस सरकार र यहाँका नागरिकलाई थप समस्यामा पारेको छ । नयाँ भाइरसको त्रासका कारण विश्वका ४० भन्दा बढी देशले बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएपछि त यहाँको जनजीवन थप प्रभावित भएको बताइएको छ ।   
  
यसका कारण बेलायतले यो पछिल्लो संस्करणको भाइरसले यहाँको जनजीवनलाई प्रभावित त बनाउँछ नै यसले यहाँ बेरोजगारी समस्या उत्पन्न गर्ने तथा यहाँको अर्थतन्त्रमा पनि नराम्रो प्रभाव पार्ने निश्चित जस्तो देखिएको जानकारको भनाइ छ । यसरी अहिले विश्व कोरोना सङ्क्रमणको पुरानै समस्याबाट पीडित रहेका बेला फेरि नयाँ प्रजातिको संक्रमण फैलिएको छ । यसले गर्दा विश्वलाई नै एक किसिमले तहस नहस नै बनाएको छ । (अन्तर्राष्ट्रिय समाचारमा आधारित)